इटहरीः शुक्रबार राति साढे ११ बजे धरान–८ मा पर्ने कोशी राजमार्गमा कार दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको ज्यान गएको धरान प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार ज्यान जानेमा धनकुटाको महालक्ष्मी नगरपालिकाका २७ वर्षीय जनक बुढाथोकी, इटहरी–४ का अनिल श्रेष्ठ र ठेगाना नखुलेका मदन लिम्बू रहेका छन् । चालक मोरङ सुन्दरहरैंचाका अन्दाजी ४५ वर्षीय गोबिन्द बस्नेतको अवस्था गम्भीर रहेको र उनको उपचार विराटनगरको न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
धरानबाट इटहरी आउँदै गरेको बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना हुन पुगेको हो । खनारबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा कार अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
ट्याक्टरमा सवार ३ जना र बसमा सवार ४ जना यात्रुहरूसमेत घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि दुर्घटनास्थल इटहरी उल्लेख भएकोमा क्षमाप्रार्थी छौँः सम्पादक