पथरीः १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध रूपमा खोला उत्खनन भइरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नगरपालिकाभित्र पर्ने तेलीखोला र मोरङ्गी खोलाबाट ढुङ्गा, गिटी, बालुवाजन्य उत्खनन गरी अवैध रूपमा दिनदहाडै निकासी गर्ने गरेको हो ।
जिल्ला समन्वय समितिको खोला ठेक्काकै समयमा मोरङ क्षेत्र नं. १ ‘ख’ का सांसद उपेन्द्र घिमिरे, ‘क’ का सांसद् कुशल साम्बा र मोरङ क्षेत्र नं. ३ ‘क’ का सांसद् सूयर्माराज राईले यसअघि खोला दोहन भएको भन्दै प्रदेश सरकारबाट रोकेका थिए । अहिले ठेक्का समाप्त भएको डेढ महिना बित्न लाग्दासमेत सांसद्कै गाउँ लेटाङ–९ जाँतेमा पर्ने तेली खोलामा स्काभेटर प्रयोग गरी दैनिक गिटी निकासी भइरहेको छ । स्थानीय विज्ञान निरौलाले खोलाजन्य पदार्थ अवैध रूपमा निकासी भइरहेकाले यसलाई जनप्रतिनिधि र सम्बन्धित निकायले रोक्नुपर्ने बताए ।
त्यसैगरी, स्थानीय किसान चन्द्रप्रसाद ढकालले खोलाबाट मापदण्डभन्दा बढी गिटी बालुवा निकाल्दा कुलोमा पानी नउठेको बताए । यदि खोला दोहन नरोके यसपालिको बर्खामा लेटाङ–९ बाह्रगोठेमा धान रोपाइँ नहुने ढकालको दाबी छ । उनका अनुसार करीब २ सय बिघा जमिन बाँझै हुने छ ।
अर्का स्थानीय काजीमान मङ्ग्रातीले दैनिक टिपर कुदेर पथरी–जाँते सडकमा खाल्डाखुल्डी भएकाले सडकमा हिँडिनसक्नु भएको बताए ।
यस विषयमा लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौला पोख्रेलसँग बुझ्दा स्टकको सामान भनेर ट्याक्टर र ट्रिपरबाट लाने गरेको बताए । जिल्ला समन्वय समितिले स्टकको सामान उठाउन पूर्जी कति दिएको र कति लगेको भनेर हेर्ने सम्बन्धित व्यक्ति नभएर पनि समस्या हुने गरेको उपप्रमुख निरौलाको भनाइ छ । उपप्रमुख निरौलाले यस्ता गैरकानुनी ढङ्गले खोला उत्खनन् गर्नेलाई कारबाही गर्नुपर्ने बताइन् ।
\