इटहरीः सोलुखुम्बुका सिडिओ नरेन्द्रकुमार रानाले आइतबार सोलुखुम्बुको लुक्लामा भएको जहाज दुर्घटना धावनमार्गमा चिप्लिएर भएको जानकारी दिएका छन् । उक्त दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा दुर्घटना भएको समिट एयरको जहाजका सहचालक सुजित ढुङ्गाना र २ जना प्रहरी अधिकारीहरू रहेका छन् । विमानस्थल सुरक्षामा खटेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रूद्रबहादुर श्रेष्ठको ज्यान गएको हो । खड्काको घटनास्थलमै र श्रेष्ठको उपचारका क्रममा काठमाडौंमा ज्यान गएको रानाले बताएका छन् ।

उनले जहाज उड्न लाग्दा अकस्मात चिप्लिएर अन्य २ वटा हेलिकोप्टरमा समेत क्षति पुर्याएको बताए । बिहान साढे ९ बजे ल्याण्ड भएको मनाङ एयरको हेलिकोप्टरमा नोक्सानी भएको छ । सो हेलिकोप्टरका चालक टीबी गुरूङसहित अन्य २ जना घाइते भएका छन् ।

लुक्ला इयरपोर्टमा रहेको श्री एयरको हेलिकोप्टरमासमेत क्षति पुगेको छ ।