इटहरीः गत साउन २४ गतेको प्रदेश सरकारको बिदा कार्यान्वयन नगर्ने केही सरकारी कार्यालयहरूले बकर इदको अवसरमा आज दिएको बिदा भने कार्यान्वयन गरेका छन् ।
आफूहरू संघीय सरकार मातहतका कार्यालय भएकाले प्रदेश बिदा मान्न नहुने बताएका ती कार्यालयहरूले दोस्रो प्रादेशिक बिदा भने मानेका छन् । अघिल्लो बिदामा खुल्ला रहेको सुनसरी अदालतले आज भने कर्मचारीलाई बिदा दियो । यस्तै, इटहरीमा रहेको कोशी अञ्चल यातायात व्यवस्था कार्यालयका सवारी र लाइसेन्स शाखा दुवैले बिदा कार्यान्वयन गरेका छन् ।
प्रदेश सरकारको सार्वजनिक बिदा अघिल्लो बिदामा जस्तै स्थानीय सरकारले मानेका छन् । निजी तथा सरकारी स्कुल तथा कलेजहरूले पनि मानेका छन् ।

अख्तियार र सिडिओ कार्यालयले कार्यान्वयन गरेनन्
यसरी पहिले बिदा कार्यान्वयन नगरेका केही कार्यालयहरूले आज बिदा दिए पनि केहीले भने अझै दिएका छैनन् । इटहरीमा रहेको अख्तियारको क्षेत्रीय कार्यालय, कृषि अनुसन्धान क्षेत्रीय कार्यालयहरूले आज पनि बिदा कार्यान्वयन गरेनन् । कृषि अनुसन्धान कार्यालयका कर्मचारीहरूले आफूहरू संघीय सरकारको कार्यालय भएकाले बिदा नमानेको बताए । यस्तै, सुनसरीको सिडिओ कार्यालयले पनि बिदा कार्यान्वयन गरेन ।
निजी तथा सरकारी बैंक तथा वित्तीय संस्थाहरू अपवादबाहेक कसैले पनि प्रदेशको सार्वजनिक बिदा मानेनन् । राष्ट्र बैंकको आदेश नआएको भन्दै बिदा कार्यान्वयन नगरेको उनीहरूको तर्क छ ।

नयाँ अभ्यास हो, क्रमशः सुधार हुन्छः गृहमन्त्री कार्की
यसरी कतै बिदा मान्ने र कतै नमान्ने कुराको बारेमा बुझ्दा प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीले बिदाको अलमल बिस्तारै हट्ने बताए । कुनै धर्मको पवित्र आस्थाको दिन दिएको बिदा मान्ने नमान्ने आफ्नै कुरा भएको भन्दै गृहमन्त्री कार्कीले प्रदेशको अभ्यास नयाँ भएकाले अलमल हुन सक्ने बताए ।
उनले भने, ‘पहिला बिदा नदिने कार्यालयहरूले यो पाली बिदा दिएका खबर छन् । प्रदेशको नयाँ अभ्यास भएकाले यस्तो भएको हो । क्रमशः सुधार हुँदै जान्छ ।’