विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङमा कलर कोडेड सेवा प्रवाह कार्ड शुरु गरिएको छ । सेवाअन्तर्गत सेवाग्राहीहरूलाई उनीहरूको गुनासो र उजुरीका आधारमा सम्बन्धित शाखामा पुग्न सजिलो हुने गरी रङ्गीन पूर्जा दिन थालिएको हो ।

एक कार्यक्रमका बीच बुधबार प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले सेवाको उद्घाटन गरे । मोरङमा पाइलट प्रोग्रामका रूपमा जिल्ला प्रहरी कार्यालय मोरङमा शुरु गरिएको यो सेवा अन्तर्गत सेवाग्राहीहरूले रङका आधारमा सेवा लिन सक्नेछन् ।

जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरूले आफ्नो उजुरी वा गुनासो अनुसार रङ्गीन पूर्जा पाउने र रङअनुसारकै कोठामा सजिलै पुग्न सक्ने बताइएको छ । यसबाट पढ्न नसक्ने सेवाग्राहीहरूलाई बढी फाइदा पुग्ने मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । कलर कोडेड सेवा प्रवाह कार्ड लागू भएपछि पहिलो आउनेले पहिले सेवा पाउनुका साथै अपराधको अभिलेखीकरणमा पनि सहयोग पुग्ने एसपी केसीले बताए ।

मोरङमा सेवा प्रवाह कार्डको उपयोगिता र प्रभावकारिता हेरेर अन्य जिल्लामा पनि बिस्तार गर्दै लैजाने बताइएको छ ।