फाइल तस्बिर
विराटनगरः गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार मोरङमा ३५ थान हतियार बुझाइएको छ । एकै दिन बिहीबार १७ थान हतियार बुझाइएको छ । बुधबारसम्ममा सानाठूला गरी ३५ थान हतियार बुझाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिइन् ।

२०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर गृह मन्त्रालयले हतियार बुझाउन निर्देशन दिएको थियो । बुझाइएका हतियारमा भरुवा र २ नाले बन्दुक छन् । हतियार नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय उर्लाबारी, बेलबारीलगायतका सुरक्षा निकायको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

मोरङ जिल्लामा ७ सय २३ जनाको नाममा हतियार दर्ता रहेकोमा म्यादभित्र २ सय १७ वटा मात्र हतियारको नवीकरण भएको जिल्ला प्रशासन कार्यालय मोरङका नायब सुब्बा तुलसीप्रसाद पौडेलले जानकारी दिए । एक पटकलाई नेपाल सरकारले नवीकरण नगरेका र अवैध रूपमा रहेका हतियार बुझाउनलाई निर्देशन गरेको जनाइएको छ । समयभित्र हतियार नबुझाए मुलुकी हातहतियार संहिता २०७२ बमोजिम कारबाही हुने बताइएको छ ।