इटहरीः निरन्तर चोरीका घटना हुँदासमेत स्थानीय प्रहरीले चोर पत्ता लगाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका–१९, पकलीका स्थानीयले जिल्लाप्रहरी कार्यालयमा शनिबार निवेदन बुझाएका छन् ।
पकली क्षेत्रका व्यापारी र सर्वसाधारणले घर तथा पसलमा निरन्तर चोरी हुँदा पनि पकलीको इलाका प्रहरी कार्यालयले नियन्त्रण गर्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन बुझाएका हुन् ।पकली क्षेत्रका एउटै पसलमा चारपटकसम्मचोरी भएको पीडितमध्येका एक विनोदकुमार झाले जनाए । ‘एउटै पसलमात्र होइन, यस क्षेत्रका धेरै ठाउँमा पटक–पटकचोरी हुँदासमेत नियन्त्रण हुन सकेन’,उनले भने, ‘त्यसैले जिल्ला प्रहरी कार्यालयसँग विशेष अनुरोधका लागि निवेदन बुझाउन गएका हौँ ।’ झाले अब उचित अनुसन्धानका लागि जिल्लाले इलाकालाई निर्देशन दिने आशा भएको जनाए ।
पकली बजार क्षेत्रभित्र लामोसमययता निरन्तर चोरी भइरहेको छ । यसलाई नियन्त्रण गर्नमाग गर्दै स्थानीयले निवेदन दिएका हुन् । स्थानीयका घर र पसल नै फुटाएर सामान चोरी गर्ने, गोठबाट गाईबाख्रा नै लैजाने जस्ता कार्यले हैरानबनेका स्थानीय नजिकको प्रहरी कार्यालयबाट सुरक्षा नभएपछि जिल्ला पुगेका हुन् ।
एक वर्षमा एउटै पसलमा चारपटकसम्मचोरी भएको घटना इलाका प्रहरी कार्यालयमा दर्ता भएपनि हालसम्म नियन्त्रण नभएको रमण मेडिकल हलका सञ्चालक पवनकुमार शर्माले जानकारी दिए । ‘मेरो पसलमा चारपटकसम्म चोरी भयो’,उनले भने, ‘कहिले पर्खाल नै फुटाएर लग्ने, कहिले तालातोडेर लग्नेसम्मका काम भए ।’
निवेदन दिन जिल्ला पुगेका स्थानीयलाई जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले सुरक्षाको प्रबन्धसहित उचित छानविन गर्ने विश्वास दिलाएका छन् । उनले प्रहरीसँग उचित प्रविधि नहुँदा अनुसन्धानमा केही ढिला हुने र त्यस समयमा दोषी उम्कनसमेत सक्ने बताए । उनले स्थानीयसँग सहकार्य गरेर संयुक्त गस्ती गरीबस्तीमा निगरानी बढाइने आश्वासनसमेत पीडितलाई दिए ।