इटहरीः आफ्नो व्यावसायिक यात्रामा बढी समय मोरङका विभिन्न स्थानमा समय बिताइरहेका इटहरी निवासी उद्योग वाणिज्य सङ्घ इटहरीका वर्तमान सदस्य समेत रहेका भीमबहादुर पौडेलले आउँदो असार १४ गते हुने चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
इटहरी क्षेत्रका उद्योगी व्यवपारीलाई समस्या पर्दा त्यति साह्रो इटहरीमा देखा नपर्ने उनी चुनाव लागेसँगै इटहरी क्षेत्रका उद्योगी व्यापारीको घरदैलोमा देखिन थालेका छन् ।

क्रसर उद्योगका सञ्चालकसमेत रहेका पौडेल बेलाबेलामा चुरे दोहनको विषयमा विवादमा तानिँदै आइरहेका व्यवसायी हुन् । यद्यपि अबको आफ्नो पूरै समयमा इटहरी क्षेत्रका उद्योगी व्यपारीको हितमा खर्च गर्ने प्रतिबद्धताका साथ उनी चुनावी मैदानमा छन् । अहिले उनी प्रतिदिन इटहरी क्षेत्रका उद्योगी व्यापारीको पसलमा पुगेर आफूलाई मत दिएर विजयी गराउन आग्रह गरिरहेका छन् । आफूलाई विजयी गराए इटहरीको मुहार नै फेरिदिने दाबीका साथ उनी चुनावी दौडमा छन् ।

पौडेलको समूहबाट उद्योग वाणिज्य सङ्घ इटहरीको वर्तमान कार्यसमितिमा रहेका केही व्यक्ति र केही नयाँ अनुहारका व्यवसायी चुनावमा लडिरहेका छन् । सबै खालका शक्ति प्रयोग गरेर जसरी भए पनि चुनावमा विजयी हुने भन्दै उनी यतिबेला पुराना व्यापारी र उद्योगीको फर्म नवीकरण गर्न तथा नयाँ दर्ताका लागि पनि खटिइरहेका छन् । उनको समूहका सबै उम्मेद्वारको नामावली आइसकेको छैन ।

यस्ता छन् पौडेल समूहका उम्मेद्वारहरू
यसअघि सम्पन्न पटकपटकका उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा सबैभन्दा बढी मत ल्याई विजयी भएका दिवस पोख्रेलले यसपटक पनि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । उनी उद्योग वाणिज्य सङ्घ इटहरीको महासचिव समेत भइसकेका युवा नेता हुन् । यसपटकको निर्वाचनमा अध्यक्षको पदमा भिड्ने दाबीका साथ बजारमा हिँडेका उनी पछिल्लो समयमा आएर पार्टी र अग्रज व्यवसायीहरूको दबाबको बहाना बनाएर पछि हटेर सदस्य पदमा मात्र उम्मेद्वारी दिन राजी भएका छन् ।

रोहित प्रसार्इं अध्यक्ष रहँदा उनले महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर इटहरी क्षेत्रका उद्योगी व्यापारीहरूको मन जित्न सफल भएका थिए । सर्पदंश उपचार केन्द्र इटहरीको अध्यक्षसमेत रहेका पोख्रेल समाजिक कार्यमासमेत उत्तिकै सक्रिय छन् ।

उद्योग वाणिज्य सङ्घ इटहरीको ३÷३ वर्षमा हुने चुनावमा पोख्रेलजस्तै विजयी हासिल गर्ने नवराज काफ्लेले यसपटकको निर्वाचनमा पौडेल समूहबाट आफ्नो उम्मेदवारी दिएका छन् । पशुपति इँटा तथा गेष्ट हाउसका सञ्चालक रहेका उनी होटल व्यवसायी सङ्घमा पनि आबद्ध छन् । विभिन्न सामाजिक सङ्घ संस्थामा रहेर इटहरी नगरवासीको मन जित्न सफल युवा व्यवसायी काफ्ले पौडेल समूहका दमदार उम्मेद्वार हुन् ।

उद्योग वाणिज्य सङ्घ इटहरीका वर्तमान कार्यसमिति सदस्य अनिल सुब्बाले पनि पौडेल समूहबाट उम्मेद्वारी घोषणा गरेका छन् । युवा व्यवसायीका रूपमा चिनिएका उनी रेडिमेड कपडा व्यवसायी सङ्घ इटहरीका कोषाध्यक्ष पनि हुन् । नेपाल रेयुकाईको प्रदेश नम्बर १ का सल्लाहकार समेत रहेका सुब्बा मेन्याङ्बो समाजका केन्द्रीय सदस्य समेत हुन् ।

पहिलो पटक उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा आफ्नो उम्मेद्वारी दिएका अर्का सशक्त युवा उम्मेदवार हुन् जीवन पराजुली । होटल व्यवसायी सङ्घ इटहरीका वर्तमान अध्यक्षसमेत रहेका पराजुलीले दर्जनौ रचनात्मक काम गरी इटहरी क्षेत्रको पर्यटन व्यवसायमा राम्रो छाप छोड्न सफल भएका छन् ।

उनी पर्यटन व्यवसायमार्फत प्रदेश सरकारसँगै छिमेकी मुलुक भारतको सिक्किम राज्य सरकारसँग पनि राम्रो सम्बन्ध स्थापित गराउन सफल भएका छन् । इटहरीको होटल व्यवसाय क्षेत्रमा आउने हरेक प्रकारका समस्यालाई हल गर्नका लागि दिनरात नभनी खट्ने भएका कारण उनी इटहरी क्षेत्रका उद्योगी व्यपारीहरूमाझ लोकप्रिय छन् ।
लामो समयदेखि इटहरी क्षेत्रमा रहेर व्यवसाय गरिरहेका धर्मेन्द्र श्रेष्ठ पनि पौडेल समूहका अर्का सशक्त उम्मेद्वार हुन् । जय बाबा इँटा उद्योगका सञ्चालकमध्येका एक उनी हेभी इकुप्मेन्ट व्यवसायी सङ्घको केन्द्रीय उपाध्यक्ष हुन् ।
उनले सो सङ्घमा प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्दै आइरहेका छन् । उनी पनि पहिलो पटक उद्योग वाणिज्य सङ्घ इटहरीको चुनावमा भिड्दैछन् । पौडेल समूहबाटै उम्मेद्वारी दिएका अर्का व्यवसायी हुन्, लक्ष्मण हुमागाई । सागर फिड्स प्रालिका सञ्चालक रहेका उनी पनि एक सशक्त उम्मेद्वार हुन् ।

इटहरी वितरक सङ्घका कोषाध्यक्ष रहेका खगेन्द्र विमली पनि पौडेल समूहबाटै उम्मेद्वारी घोषणा गरेका व्यवसायी हुन् । कस्मेटिक तथा मनिहारी सङ्घ इटहरीका सल्लाहकार समेत रहेका उनी लायन्स क्लब लगायत सामाजिक सङ्घ संस्थामा आबद्ध भई मानवीय हितका कार्यमा लागि पर्दै आएका व्यक्ति हुन् । उनी पनि इटहरी नगरका उद्योगी व्यापारी र अन्य नगरवासीको मन जित्न सफल हुँदै आएका छन् । उनी पहिलो पटक वाणिज्य सङ्घको चुनावमा भिड्दैछन् ।

उनीजस्तै उद्योग वाणिज्य सङ्घ इटहरीको चुनावमा पहिलो पटक भिड्ने अर्का व्यवसायी हुन्, राजु राय । सपना गोल्ड एण्ड कस्मेटिकका सञ्चालक राय टे«ड युनियन व्यापार श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

इटहरीको सामाजिक कार्यमा आफूलाई स्थापित गराउँदै व्यवसाय क्षेत्रमा निरन्तर क्रियाशील युवा व्यवसायी पीताम्बर पोख्रेलले पनि पौडेल समूहबाट आफ्नो उम्मेद्वारी दिएका छन् । सानातिना विकासका कार्य हुन् या समाजिक हितका कार्य हुन् सरकारी निकायको मुख नताक्ने हिम्मत भएका युवा व्यवसायीमा गनिएका उनले इटहरी नगरका उद्योगी व्यपारीहरूको मन जित्न सफल भएका छन् । उनी पनि पौडेल समूहका अर्का सशक्त उम्मेद्वार हुन् ।

०७३ सालम भएको उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा धेरै मत बदर भएर पराजय भोगेकी गायत्री भण्डारीले यसपटक पुनः पौडेल समूहबाट महिलातर्फबाट आफ्नो उम्मेदवारी दिएकी छिन् । उद्योगी व्यापारी माझ लोकप्रिय उनी रोहित प्रसाईको पछिल्लो कार्यकालमा राम्रो मत ल्याएर विजयी भएकी थिइन् । उनी रेडिमेड कपडा व्यवसायी सङ्घ इटहरीकी अध्यक्ष समेत हुन् ।

महिलातर्फकै अर्की सशक्त उम्मेद्वार हुन्, शोभा (सविना) कोइराला । लामो समयदेखि समाजिक कार्यसँगै व्यवसायमा लागि परेकी उनी पनि इटहरी क्षेत्रमा परिचित महिला व्यवसायी हुन् । पहिलो पटक व्यवसायिक हितका लागि वाणिज्य सङ्घको चुनावमा भिड्ने घोषणा गरेकी उनी विभिन्न सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् ।

पौडेल समूहबाट उम्मेद्वारी दिएका मुक्ति दाहाल कोहीनुर प्लाइका सञ्चालक हुन् । उनीसँंग इटहरी क्षेत्रमा लामो व्यावसायिक अनुभव छ । त्यसैगरी पूजा प्लाइका सञ्चालक अशोक अग्रवाल पनि पौडेल समूहका उम्मेदवार हुन् । इटहरीमा पार्टी प्यालेस सञ्चालनमा अग्रस्थानमा रहेका विष्णु रिजाल पनि पौडेल समूहका अर्का दरिला उम्मेद्वार हुन् ।

लामो समयदेखि इटहरीमा मदिरा व्यवसाय गरिरहेका रामकुमार श्रेष्ठ पनि पौडेल समूहका अर्का उम्मेद्वार हुन् । सो समूहले वस्तुगत तर्फ २ जना र एशोसिएटतर्फ १ जना उम्मेद्वारको नाम भने टुङ्गो लगाउन सकेको छैन ।