पथरीः बैशाख– ७ गते शनिबार बिहान नग्न अवस्थामा मृत फेला परेकी रुपा (रीना) बस्नेतको हत्या हो या के हो भन्ने बारेमा प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा रुपासँग सम्बन्धित प्रमाणहरूको सङ्कलन गरेर अनुसन्धान प्रक्रिया शुरु गरेको छ । यद्यपि हत्या भएको दिन शनिबार परेको हुँदा प्राविधिक कुराहरूको समेत आइतबारदेखि अनुसन्धान थालिएको मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले जानकारी दिएका छन् । केसीका अनुसार शवको प्रकृति र शरीरमा लागेको चोटहरूका आधारमा उनको लडेरै मृत्यु भएको जस्तो देखिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक महिलाले रातको समयमा मादक पदार्थ सेवन गरेको र उनी बस्दै आएको कोठाको चुकुल पनि सहज रूपमा भित्रैबाट खोलेको पुष्टि भइसकेको छ । महिलाले प्रयोग गर्दै आएको मोबाइल फोनको ‘कल डिटेल’ लिने काम आइतबारदेखि थालिएको र मोबाइल रेकर्ड आइसकेपछि थप कुरा बाहिर आउन सक्ने सम्भावना रहेको एसपी केसीले जानकारी दिए । अहिलेसम्मको प्रारम्भिक अनुसन्धानलाई आधार मान्दा उनको टाउकामा चोट लागेको र शरीरका केही भागमा सामान्य चोट रहेको छ । पोष्टमार्टमको पूर्ण रिपोर्ट आएपछि थप कुरा खुल्ने केसीको भनाइ रहेको छ ।
तर, शनिवार बिहान देखिएको महिलाको शवको अवस्था हेर्दा भने उनको खुट्टाको पैतालामा खेतमा पाइने माटो टाँसिएको अवस्थामा रहेको थियो । उनका ४ वर्षीय छोराको भनाइअनुसार कन्सर्टबाट फर्किएपछि उनले कपडा फेरेकी थिइन् ।
यता, प्रहरीले भने सहज रूपमा ढोकाको चुकुल भित्रबाट खोलेको र उनको लडेरै मृत्यु भएको हुन सक्ने भन्दै अनुमान लगाउँदै आएको छ । ३ तला माथि रहेकी महिलाको खुट्टामा खेतको माटो कसरी टाँसियो भन्ने कुरा रहस्मय रहेको बताइएको छ ।
नगरको सुरक्षाको जिम्मा पाएका ३ वटा सुरक्षा निकाय छन् । तर घटनाको वास्तविकता पत्ता लगाउन सकिरहेको छैन । जसका कारण सुरक्षा निकायप्रतिको जनताको भरोसा घट्दो क्रममा छ ।
बैशाख ७ गते रिना (रुपा) बस्नेतको निर्वस्त्र शव फेला परेको थियो भने केही समयअघि जिरीखिम्ती परिसरमा भेटिएको रमा बरालको शव भेटिएको थियो । शिरिजङ्गा वन परिसरमा भएको २ जनाको हत्या, पथरीकै एक रेष्टुरेन्टमा गएका एक युवाको मृत्यु जस्ता घटना पथरी शनिश्चरेमा भएका रहस्यमय घटना हुन् ।
सीसी क्यामेराले कुनै पनि घटनाको रेकर्ड गर्न सकिरहेका छैनन् । यसको मर्मत, सम्भारमा कसैको ध्यान जान सकेको छैन । पथरीको यलम्बर चोक दक्षिणमा रहेको पथरी बहुमुखी क्याम्पस र भूपू सैनिक बोर्डिङको पूर्वतर्फ सरकारी जग्गामा झाडी बाक्लिएसँगै अपराध गर्न सहज वातावरण बनिरहेको त छैन भनी स्थानीयले प्रश्न गर्न थालेका छन् ।
सो झाडीमा रीनाको मृत्युको भोलिपल्टै भेटिएको कपडा, ताजा रगत, कपाल, लाइटर लगायतका सामग्री फेला परेका थिए । त्यसकारण स्थानीय झनै त्रसित भएका छन् । यस्ता विषयमा स्थानीय प्रशासन कहिले सचेत हुने र अपराध न्यूनीकरणको अभियान थाल्ने भन्ने प्रश्न सिर्जना भएको छ ।
के भन्छन् स्थानीय ?
मोरङको पथरीशनिश्चरे पछिल्लो समय जिल्लाकै असुरक्षित नगर बन्न थालेको स्थानीय व्यापारी र सर्वसाधारणको भनाइ छ ।
पछिल्ला केही महिनामा भएका घटनाक्रमलाई हेर्ने हो भने पथरीमा आपराधिक घटनाहरू जिल्लामै बढी देखिएको स्थानीय बताउँछन् । पछिल्ला घटनाक्रमले सो क्षेत्र सबैभन्दा असुरक्षित मानिँदै आएको छ । पछिल्लो समय पथरीमा ४ वटा अस्वभाविक मृत्युका घटना भएका छन् । कुनै पनि घटनामा पथरी प्रहरीले उल्लेख्य अनुसन्धान गर्न नसकेको स्थानीय धनकुमार तामाङको भनाइ रहेको छ ।
सिक्का बारमा भएको घटनामा त प्रहरी झनै आलोचित बनेको थियो । रीना बस्नेतको हत्या वा आत्महत्या के हो भन्ने अझै खुलेको छैन । तर पनि यो घटनामा प्रहरी हदैसम्म चुकेको स्थानीयको गुनासो छ ।
गलत क्रियाकलाप, गुण्डागर्दीलगायत खराब कामलाई पश्रय दिएको आरोप लाग्ने गरेका पथरी प्रहरी प्रमुख कमल बजगाईँ पटकपटकका आपराधिक घटनाको अनुसन्धानमा आलोचित बनेका छन् ।
राती ११ बजेसम्म कन्सर्ट आयोजना गर्न दिनु र बिहान बीच बजारमा शव भेटिँदा समेत केही थाहा नहुनुले प्रहरीको लाचारीपन प्रष्ट्याएको स्थानीयको तर्क छ । यस विषयमा बजगाईले भने कुनै प्रतिक्रिया दिन मानेनन् ।
के भन्छन् स्थानीय सरकार प्रमुख
पछिल्लो समय नगर क्षेत्रमा यस्ता अस्वाभाविक घटनाक्रम बढ्न थालेपछि स्थानीय सरकारका प्रतिनिधि गम्भीर देखिएका छन् । पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलीपकुमार राईले स्थानीय प्रशासनसँग सहकार्य गर्दै अगाडि बढेको र २÷४ दिन भित्रमै प्रहरी संयन्त्रबाट घटनाको वास्तविकता बाहिर ल्याउनेमा विश्वस्त रहेको जानकारी दिए ।
आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन स्थानीय सरकार, प्रहरी प्रशासन र सरोकारवाला पक्षसँग बसेर योजना बनाइने समेत उनले बताए । नगरपालिकामा हुने गरेका सार्वजनिक कार्यक्रमहरूलाई समेत कडाइका साथ हेरिने र होटल व्यवसाय सञ्चालनमा पनि निगरानी बढाइने उनको भनाइ छ ।
नगरलाई प्रहरीले मात्र पहरा दिन नसक्ने अवस्था सिर्जना भएपछि आफ्नै वडामा भएका यस्ता घटनालाई लिएर आउँदो आर्थिक वर्षदेखि सचेत हुने वडा नम्बर एकका अध्यक्ष बाबुराम याङ्देनले बताए । उनले बिग्रिएका सीसी क्यामेराको मर्मत गरी थप संवेदनशील क्षेत्रमा अन्य क्यामेराको जडान गर्नेसमेत जानकारी दिए ।