इटहरीः लगातार चौथो दिन पनि नेप्से सूचक घटेको छ । नेप्से १.४७ अङ्कले घटेर ११८२.४२ अङ्कमा पुगेको छ । कुल १ सय ५३ कम्पनीको १६ करोड ९२ लाख ९७ हजार ६ सय १५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कुल १० वटा समूहको सेयर कारोबार हुँदा ३ वटा समूहका सूचक बढेका छन् । ६ लाख ६३ हजार ३ सय ९० कित्ता सेयर किनबेच भएको छ । जलविद्युत समूहमा सबैभन्दा धेरै ०.७० प्रतिशतले सुधार आउँदा उत्पादनमूलक समूहमा भने ०.१० प्रतिशतले मात्रै सुधार भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १ प्रतिशतले घट्दा विकास बैंक र अन्य समूह सबैभन्दा कम ०.०३ प्रतिशतले झरेको छ ।

स्वावलम्बनको उच्च कारोबार
कारोबार रकममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । स्वावलम्बनको १ करोड ४६ लाख ८६ हजार ४ सय ४१ रुपैयाँको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिभिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक परेका छन् । सिभिलको १ करोड २४ लाख ३५ हजार ३ सय ५९ रुपैयाँको सेयर किनबेच हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको ८७ लाख १३ हजार २ सय ८८ रुपैयाँको सेयर किनबेच भएको थियो ।

सेयर सङ्ख्यामा सिभिल अगाडि
सेयर सङ्ख्याको आधारमा सिभिल बैंक अघि देखिएको छ । सो बैंकको ८४ हजार ८ सय ९६ कित्ता सेयर किनबेच भएको थियो । कैलाश विकास बैंकको संस्थापक सेयर २५ हजार १ सय ५५ कित्ता किनबेच हुँदा बैंक अफ काठमाण्डू लिमिटेडको २३ हजार २ सय १८ कित्ता सेयर किनबेच भएको थियो ।

कारोबार सङ्ख्यामा नेपाल लाइफ अघि
नेपाल लाइफ इन्स्योरेन्सको १ सय ४६ पटक सेयर किनबेच हुँदा नेपाल इन्भेस्टमेन्ट बैंकको ९५ पटक र प्रभु इन्स्योरेन्सको ७२ पटक कारोबार भएको थियो । बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ६ अर्ब कायम भएको छ ।