झापाः पछिल्लो समय मादक पदार्थका कारण घरेलु हिंसा बढेको भन्दैं यसको नियन्त्रण र निरुत्साहितका लागि विभिन्न चेतनामूलक कार्यक्रम अघि सार्न सोमबार मेचीनगरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा आयोजना गरेको ‘टी विथ टिम’ कार्यक्रममा सहभागीले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा विशेषगरी लागूऔषधको नियन्त्रण, महिला तथा घरेलु हिंसालाई कसरी रोक्ने तथा ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो ।

समुदाय प्रहरी मेचीनगरपालिका समितिका सहसंयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले नगरपालिकामा आउने अधिकांश उजुरी श्रीमान्श्रीमतीबीचको झैझगडा भएको बताइन् । उनका अनुसार झगडाको मुख्य कारण मादक पदार्थ सेवन नै रहेको छ । मादक पदार्थ नियन्त्रण गर्न सके घरेलु हिंसामा समेत कमी आउने उपप्रमुख उप्रेतीले विश्वास व्यक्त गरिन् ।

सार्वजनिक जग्गा र राजमार्ग अतिक्रमण गरी निर्माण सामग्री राख्ने गरेका कारण दुर्घटना हुने प्रबल सम्भावना रहेकाले यसको नियन्त्रणमा सरोकारवाला निकाय लाग्नुपर्ने सहभागीको भनाइ थियो । नगरमा सञ्चालन भएका होटललाई एउटा निश्चित समयसम्म खोल्न दिने, मादक पदार्थ सेवन गर्न चाहने व्यक्तिलाई व्यवसायीले निश्चित मात्रामा प्रयोग गर्न दिनुपर्ने, घरेलु मादक पदार्थलाई निरुत्साहित गर्नुपर्ने, मादक पदार्थ मापन गर्नुपर्ने तथा होटलहरुको छड्के अनुगमन गर्नुपर्ने बताएका छन् । प्रत्येक होटलले आफ्ना होटलमा आउने ग्राहकको सम्पूर्ण परिचय खुल्ने गरी अभिलेख राख्नुपर्ने, बालश्रम शोषणको अन्त्य गर्नुपर्ने तथा नगरमा हुने यौन क्रियाकलापलाई तत्काल रोक्नुपर्ने सहभागीले आवाज उठाएका थिए ।

प्रहरी समुदाय प्रहरी मेचीनगर नगरपालिका समितिका सदस्य सचिव इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले पालिकास्तरीय सङ्घ संस्थासँग हातेमालो गर्दै नगरमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताए । उनले स्थानीय सरकारले नगरभित्रका होटललाई रातको समयमा कति बजेसम्म खोल्न दिने त्यसको ठोस नीति बनाउन समेत आग्रह गरेका थिए ।

प्रहरी, स्थानीय तह, समुदाय सामाजिक सङ्घ संस्था र विद्यालयबीच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्नु आवश्यक रहेको सहभागीको भनाइ थियो । समुदाय स्तरमा अपराध रोकथामलाई प्राथमिकतामा राखी सामुहिक प्रयास गर्ने, दिगो र दीर्घकालीन साझेदारी संयन्त्र निर्माण गर्न विद्यमान परिस्थिति र भावी कार्यदिशाको सम्बोधन गर्न, विकास र सुरक्षाबीचको आत्मनिर्भरतालाई एकीकृत रूपमा आत्मसात गर्न, सुरक्षा सचेतना अभिवृद्धि गर्न संरचनागत प्रणालीको विकास गर्न स्थानीय तहमा सेवा प्रवाहमा सुरक्षाको प्रभावकारी समन्वय कायम गर्नु समुदाय प्रहरी साझेदारीको औचित्य रहेको प्रहरी नायब उपरीक्षक थापाले प्रष्ट पारेका थिए ।

प्रहरी निरीक्षक कोमल ठाकुरले प्रहरीले अहिलेसम्म समाजमा गरेका विभिन्न चेतनामूलक कार्यक्रमका बारेमा विचार राखेका थिए । छलफलमा समितिका अन्य पदाधिकारीले समेत आफ्नो विचार राखेका थिए ।