बिर्तामोडः नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राजनीतिक जोगी भएको बताएका छन् ।
नागरिक अभिन्दन स्वीकार्न गृह जिल्ला आएका ओलीले आफूले कसैका लागि कमाइदिनु नपर्ने उल्लेख गर्दै यस्तो बताएका हुन् । ‘म राजनीतिक जोगीजस्तै हुँ’ प्रधानमन्त्री ओलीले झापाको गौरादहमा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘मैले स्वास्थ्य र राजनीतिक दुवै हिसाबले देशको सेवा गर्ने दोस्रो मौका पाएको छु । मैले कसैका लागि केही कमाउनु छैन, जे गर्छु देश र जनताकै लागि गर्छु ।’
प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक आफ्नो क्षेत्रका जनतालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री ओलीले देश समृद्धिको बाटोमा अघि बढिसकेको बताए । सुदृढ र मजबुत सरकार निर्माण भएकाले अब देशले विकासको गति पाउने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले ५ वर्षभित्र देशमा फुसको छानो भएको घर देख्न नपाइने बताए ।
ओलीले स्थानीय तहका प्रतिनिधिले जनताको भावना विपरीत सवारी साधन खरिद गरेको गुनासो आएको उल्लेख गर्दै भने, ‘जनतालाई खुसी पार्नुस्, भोटको माया गर्नुस् मोटरसाइकलको माया नगर्नुस् ।’
प्रधानमन्त्री ओलीलाई गौरादह नगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो । कार्यक्रम पछि प्रधानमन्त्री ओली काठमाडौं फर्किएका छन् ।