इटहरीः  नेपालमा दशक बढी देखी धर्म प्रचारमा सक्रिय कोरियन पादरी सोङ जे हुनने नेपालीलाई घरमै गएर धम्की दिएको पीडितहरूले गुनासो गरेका छन् । यही आठ गते  परमेश्वरको मन्डली विश्व सूसमाचार समाज (सियोन) चर्चकी विश्वासी इटहरीकी अनु राईको घरमै पुगेर धम्की दिने कोरियन पादरी र उनको उक्साहटमा कुटपिट र धम्की दिनेहरूलाई प्रहरीले उन्मुक्ति दिएको उनीहरूले बताएका छन् ।

आफूले आठैगते किटानी जाहेरी दिएपनि कोरियनलाई रातारात भगाएको पीडित राईको गुनासो छ । पीडितहरूले कोरियनलाई छलफलमा राख्नुपर्छ भन्दा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनेन्द्रहाङ खजुमले पीडितहरूलाई बाहिर निकालेर छलफल हुन नदिएको बताए । छलफलका प्रत्यक्षदर्शि तथा इटहरीका पत्रकार विकल पौडेलले कोरियन ल्याएपछि मात्रै छलफल हुन्छ भनेपछि सञ्चारकर्मीहरूलाई समेत जबरजस्ती बाहिर जान खजुमले थर्काएको बताए ।

पीडितहरूले इलाका प्रहरी अगाडि रोइकराई गरे पनि प्रहरीले कोरियन नागरिकलाई छलफलमा समेत नबोलाएको पौडेलले बताए । इटहरी ३ मा रहेको परमेश्वरको मन्डली विश्व सूसमाचार समाज (सियोन) चर्च प्रमुख कोरियन नागरिक सोङ जे हुनले आफ्नै चर्चका विश्वासीहरुलाइ यही आठ गते घरमै पुगेर धम्क्याए । चर्चमा भनिएका र बुझाइएका विभिन्न १५ सवालहरूमा प्रश्न गरेको आधारमा आफूहरूलाई घरमै आएर कोरियन मूलका नागरिक हुनले आफूहरूलाई धम्क्याएको पीडित तथा सोही चर्चका विश्वासी अभिषेक कार्कीले बताए । चर्च नजिकै रहेको अनु राईको घरमा चर्चका विश्वासीहरु अभिषेक कार्की, आयुसा चौधरी लगायत भएको अवस्थामा कोरियन नागरिक आएर धम्क्याएको पीडितहरूले बताए ।

पीडित अनु राईका अनुसार उनलाई प्रमीला राईले हातपात गरेकी थिइन । अभिषेक कार्कीलाई अस्लिन शब्द बोल्दै जयराम राईले आक्रमण प्रयास गरेको तर साथीहरूले बताएको आयुसा चौधरीले बताइन । २०१२ मा संसार सकिन्छ भनिएको, बाइबललाई तोडमोड गरिएको लगायतका चर्चका कोरियन पादरीले गरेका विभिन्न १५ हर्कतमा प्रश्नहरू गरेपछि मान्छे उचालेर धक्कि दिने, प्रमाण नष्ट गर्न दबाब दिने पीडितहरूले बताएका छन् ।

चर्चलाई दशांश (कुल आर्जनको दश प्रतिशत) दिने नाममा विश्वासीहरुलाइ अंश माग्न लाउने, डिभोर्स गर्न उक्साउने, चर्चका फुलटाइमर पुरुषलाई परिवार नियोजन गर्न लाउने र महिलाहरूलाई बच्चा हुँदा गर्भपतन गर्न लाउने पनि पीडितहरूले बताएका छन् । कति सम्म भने नक्कली सफ्टवेयर कम्पनी खोलेर भिजिट भिसामा नेपालमा बस्ने कोरियनले नेपालीको लाखौँ पैशा दशांशको नाममा कोरिया लाने पीडितहरूले बताएका छन् ।