पथरीः मोरङको पथरीशनिश्चरेमा हुने गरेका चरणबद्ध रहस्यमय मृत्युका घटनालाई लिएर आक्रान्त बन्दै आएको पथरीशनिश्चरेको प्रहरी प्रशासनले नयाँ नेतृत्व पाउने भएको छ । हालसम्म सो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालन हँुदै आएको थियो । अब पथरीशनिश्चरेले डीएसपीको नेतृत्व पाउने भएको हो ।
पछिल्ला घटनाक्रमलाई लिएर छानबिन गर्न आएका डीएसपी नवराज ढुगानाले नै निरन्तरता पाउने बुझिएको छ । बिहीबारको मितिबाट हालका प्रमुख कमल बजगाईलाई भने जिम्मेवारीबाट हटाइएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जनस्तरबाट थप सुरक्षा बलको माग भईआएको हुँदा प्रदेश गृह मन्त्रालयले प्रक्रियाका लागि काम थालेको जानकारी दिए । प्रक्रियाका लागि विभागमा जानकारी गराउनुपर्ने र आवश्यकताअनुसार डीएसपीको दरबन्दी कायम गर्ने नगर्ने भन्नेबारे टुङ्गोमा पुगिने उनले बताए । केसीले हाललाई भने पथरीको प्रहरी कमाण्ड जिल्ला हेरिरहेका डीएसपी ढुुङ्गेलले नै सम्हाल्ने जानकारी दिए ।
नगर क्षेत्रको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै र पछिल्लो समयमा हुने गरेका शृङ्खलाबद्ध हत्याका घटनालाई कमल बजगाई नेतृत्वको प्रहरी कमाण्डले सम्हाल्न नसकेको जनगुनासो थियो ।
बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रदेश सरकारको गृह मन्त्रालयको बैठकले हालका प्रहरी निरीक्षकलाई हटाएर डिएसपी राख्ने निर्णय गरेको छ ।
पछिल्लो समय पथरी बजारमा व्यवसाय गर्दै आएकी २९ वर्षीया रुपा (रीना) बस्नेतको मृत्यु प्रकरणले पथरीमा उग्र रूप लिएको थियो । बैशाख ६ गते पथरीमा आयोजित कन्सर्ट हेरेर रातको ११ बजे उनका २ साथी हेमा खड्का र पवित्रा दाहालका साथमा घर फर्किएकी रुपाको त्यसको भोलिपल्ट बिहान नग्न अवस्थामा डेरा अगाडीको वाटोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।
यसरी उनको शव भेटिएपछि स्थानीय व्यापारीहरू रुपाको हत्या भएको भन्दै उनको न्यायको माग गर्दै स्थानीय सरकार, इलाका प्रहरीलगायतका कार्यालयमा गएका थिए ।
ती कार्यालयमा जाँदा चित्तबुझ्दो उत्तर नपाएको बरु स्थानीय प्रहरी प्रशासनले बस्नेतको हत्या नभएर मादक पदार्थ सेवन पश्चात लडेर मृत्यु भएको हुन सक्ने भन्दै घटनाको वास्तविकता लुकाउन खोजेको भन्दै स्थानीय आक्रोशित भएका थिए । घटनालाई सामान्य रूपमा हेरेको, नगरको सुरक्षा गर्न प्रहरी प्रशासन चुकेको, नगरमा यस्ता प्रकृतिका शृङ्खलाबद्ध हत्याका घटना हुँदा पनि प्रहरी प्रशासनले गम्भीरताका साथ नलिएको भन्दै स्थानीय उद्योग वाणिज्य सङ्घको अगुवाइमा नगर सरकारलाई गत आइतबार ध्यानाकर्षणपत्र बुझाइएको थियो ।
रुपा (रीना)को न्यायको माग गर्दै स्थानीय व्यापारीको भेलाले सङ्घर्ष समिति नै बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । बस्नेतको घर र माइती पक्षका आफन्त भने उनको न्याय कुरिरहेका छन् ।