पथरीः गत शनिबार ज्यान गुमाएकी रीनाको शवको प्रारम्भिक रिपोर्ट आएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पोस्टमार्टमको रिपोर्ट अनुसार उनको बलात्कार गरेको प्रमाण फेला नपरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।
बिहीबार साँझ टेलिफोनमा कुरा गर्दै केसीले शवको ल्याब रिपोर्ट आउन केही समय लाग्ने भए पनि प्रारम्भिक रिपोर्टले टाउको र छातीमा चोट लागेको जानकारी दिएका छन् । उनले चिकित्सकको भनाइ जानकारी दिँदै प्रारम्भिक रिपोर्टले हत्या नभई माथिल्लो तलाबाट सडकमा बज्रिँदा ज्यान गएको हुन सक्ने बताए ।
नेपालको पोलिग्राफ टेस्ट
रीनाका प्रेमी भनिएका कमल नेपालको पोलिग्राफ टेस्ट समेत गरिएको एसपी केसीले जानकारी दिएका छन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका नेपालले लामो समयदेखि रीनासँग प्रेम सम्बन्ध रहेको स्वीकारेको उनले जानकारी दिए । कतै बयानका क्रममा बोलेका कुरा झुटो पो हो कि भनेर नेपालको पोलिग्राफ टेस्टसमेत गरिएको बताइएको छ ।