इटहरी: क्रिस्चियन धर्म छाड्न खोजेको भन्दै इटहरीका एक युवालाई श्रीमतीसँग डिभोर्स गर्न दबाब बढेको खु्लासा भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने एलिस सङ्ग्रौलालाई धर्म छाड्ने भए डिभोर्स गर्न दबाब दिइएको हो ।
३ वर्षअघि प्रेम विवाह गरेका उनी इटहरीमा डेरामा बस्दै आएका छन् । ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ (सियोन)को विश्वासी रहेका उनलाई डिभोर्सको लागि दबाब बढ्न थालेको छ । सङ्ग्रौलाका अनुसार उनको ससुराली र चर्चका विश्वासीबाटै धम्की आउने गरेको छ ।
यसरी शुरु भयो घटना
सियोनका पास्टरले सन् २०१२ मा विश्वमा प्रलय हुन्छ भनेका थिए । शङ्कास्पद विभिन्न १५ वटा प्रश्नको सवाल विश्वासी अभिषेक कार्कीले चर्चका कोरियाली नागरिक ‘सोङ जे हुन्’ सँग राखेका थिए । त्यसपछि कार्कीकै कुरामा सङ्ग्रौलाले पनि साथ दिएका दिएका थिए । त्यसपछि भने उनी चर्चको खराब प्रवृत्तिको विषयमा भण्डाफोर गर्न थाले ।
सोही विषयलाई लिएर उनीहरूकै समूहमा सहमति जनाउने अनु राईमाथि यही ७ गते शनिबार तिनै पास्टरको टोलीले भौतिक आक्रमण गरेको थियो । त्यसपछि अभिषेक र अनु लगायतको टोलीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनीसँगै सङ्ग्रौला पनि सहभागी भएका थिए ।
तर उनको विपक्षमा उनकी दिदी पार्वती सङ्ग्रौला, भिनाजु मनोज मण्डल र स्वयम् श्रीमती थिए । अभिषेकको ‘सपोर्ट’ नगर्न भन्दै उनलाई छाड्न दबाब दिए । तर उनले आफू सत्यको पक्षमा बोल्ने भएकाले भ्रममा सधैँ नरहने बताइरहे । उनका अनुसार त्यसपछि श्रीमतीले कोठाको चाबी लिएर माइत गइन् । माइत गएको २ दिनपछि उनलाई फोन गरेर जेठान कपिल दाहालले ससुराली आएर कुरा गर्न र अभिषेकसँग नहिँड्न धम्की दिएका थिए । धम्कीपछि पनि आफू सत्यको मार्गमा लागेको भन्दै उनी ससुराली नगएको बताए ।
त्यसपछि बुधबार डेरामै आएर जेठानलगायत २ सय जनाको टोलीले उनीमाथि धम्की दिएका थियो । उनका अनुसार एक्कासी कोठामा छिरेर अश्लील गालीगलोज गरेको उनले सुनाए । सोही समूहमा आएका केशव दाहालले आफूलाई कुटपिट गरेको उनको भनाइ छ ।
उनको ससुराली पनि सोही चर्चका विश्वासी भएकाले नियमित चर्च जान दबाब दिइएको हो । तर उनी चर्चले आफूहरूलाई भ्रममा पारेको भन्दै अब चर्च नजाने पक्षमा देखिन्छन् । ‘मैले मेरी श्रीमतीलाई पनि आफूहरूलाई भ्रममा पारेको विषयमा प्रश्न गरेँ । उनले पनि उत्तर दिन सकिनन्,’ उनले भने, ‘मलाई यही कारण मानसिक दबाब दिने काम भइरहेको छ । चर्च नगएको भन्दै डिभोर्स गराउन खोजी रहेका छन् ।’
त्यसै विषयमा वडा प्रहरी कार्यालयमा बसेको बैठकले आगामी दिनमा झगडा नगर्ने गरी विवाद मिलाएको थियो । प्रहरीका अनुसार विगतमा भएका समस्यालाई समाधान नगर्न दुवै जना राजीखुशी रहने कागज गरिएको हो ।