बेलबारीः कानुन मन्त्री भानुभक्त ढकालले नेपालको संविधान जारी गर्न समस्या परे जस्तो मुलुकी र देवानी संहिता जारी गर्न समस्या नभएको बताएका छन् ।
उनले सो संहितामा भएको ऐनको विरुद्धमा डाक्टरले विरोध गर्नु उचित नभएको बताए । ढकालले मोरङ क्षेत्र नम्बर ३ मा आफूसँग चुनावी प्रतिष्पर्धा गरेका कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्माप्रति लक्षित गर्दै भने, ‘२÷३ सयमा सेतो एप्रोन लाउनेलाई मात्रै कानुन लाग्छ । इजाजतप्राप्त डाक्टरलाई कानुनले कुनै असर गर्दैन ।’ उपचार गर्दागर्दै मृत्यु भएमा छानबिन समिति बनाएर मात्रै कार्वाही हुने तर उपचारको बहानामा मार्ने काम गरे कानुनबमोजिम कारवाही हुने उनले बताए । उपचार गर्दागर्दै बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।
मन्त्री भएपछि पहिलो पटक ढकाल आफ्नो क्षेत्रमा आएका हुन् । मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव जितेका ढकाल तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङ बर्खास्त भएपछि मन्त्री भएका थिए ।
जनतालाई मार पर्ने कर छैन
वर्तमान सरकारले जनतालाई मार पर्ने खालको कुनै कर नलिएको उनले बताए ।
स्थानीय सरकारलाई कर लगाउने अधिकार भएको भन्दै उनले जनप्रतिनिधलाई कस्तो खालको कर लगाउने भन्ने राम्ररी थाहा भएको बताए । विरोध गरेर प्रतिपक्षीले आफ्नो धर्म निर्वाह गर्न खोज्दा अनावश्यक हल्ला मात्रै भएको उनले बताए । जनतालाई मार पर्ने गरी स्थानीय तहले कर नलगाएको उनले बताए ।