इटहरी: नयाँ वर्षको दिन नै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा ७५ वर्षीय जागेश्वर मण्डलको हत्या भयो । भोक्राहाको सर्बैया टोलमा पर्ने उनकै घरमा आएर सोही गाउँपालिकाको वडा नम्बर ७ का २९ वर्षीय शङ्कर मण्डल २५ वर्षीय बुधु मण्डलले हत्या गरेका थिए ।
राति साढे ११ बजे ७५ वर्षीय मण्डललाई पुरानो रिसिइबीको कारण कुटपिट गरी हत्या भएको थियो । भोक्राहाको घटनापछि भारतीय सीमावर्ती क्षेत्र नजिक रहेको इनरुवा नगरपालिका वडा नम्बर ७ चाँदबेलामा पनि २८ वर्षीय मुकेश ऋषिदेवको हत्या भयो । गत आइतबार राति आफ्नै पत्नीले गरेको धारिलो हतियार प्रहारबाट ऋषिदेवको ज्यान गएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खाना खाँदा झगडा परेको र आवेशमा धारिलो हतियारले हिर्काएपश्चात् मुकेशको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।
पछिल्लो समय सुनसरीको दक्षिणी क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्दै गएको छ । सीमा क्षेत्रमा हत्या गरेर भारततर्फ भाग्ने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ । आर्थिक वर्ष २०७५ साउनयता बैशाख ११ गतेसम्म मात्रै सुनसरीमा २२ जनाको हत्या भइसकेको छ ।
सुनसरी प्रहरीको अपराध सूचीका अनुसार सुनसरीमा शृङ्खलाबद्ध रूपमा व्यक्ति हत्या गर्ने क्रम बढ्दै गएको देखिन्छ । केही समय अगाडि ‘मर्निङ वाक’कै क्रममा अचानक फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । गोली प्रहारलगत्तै उनका भाइले उपचारको लागि अस्पताल पु¥याए पनि अस्पतालमा उनको मृत्यु भयो ।
फिदा हुसेन हत्याकाण्डको ४ महिना अगाडि भदौ ४ गते सुनसरीकै भुटाहमा मुुस्लिम अगुवा खुर्सिद आलमको पनि हत्या भएको थियो । विद्यालयको बैठक सकेर घर फर्कने क्रममा उनको हत्या भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीका अनुसार बारम्बारका गोलीकाण्डले हत्याका घटना रहस्यमय बन्दै गएको छ ।
यसअघि भोक्राहा नरसिंह गाउँपालिकाका तरकारी किसानहरूबीच धनियाँ बिक्री गर्ने विवादमा २ जनाको हत्या भइसकेको छ । भोक्राहा नरसिंह–७ का सुइलाल मण्डलको हत्या भएको थियो । उनीसँग विवाद गर्ने जागेश्वर मण्डलको समेत चैत २७ गते हत्या भयो ।
सीमावर्ती क्षेत्रमा मात्र होइन केही समय अगाडि होलीको बेला धरान उपमहानगरपालिका–७ बगैंचालाइनमा वादविवाद भई छुरा प्रहार हुँदा १ जनाको मृत्यु भएको थियो । होली मनाएर घर फर्किने क्रममा एकको मृत्यु र एक जना घाइते भएका थिए ।
धरानमा रितेश देवको फागुन २८ गते घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको थियो । यतिमात्रै नभएर रामधुनी–१ का ७५ वर्षीय वृद्ध नरबहादुर भण्डारीको समेत घरमै हत्या गरिएको अवस्थामा फेला परेका थिए । इटहरी–४ मा डेरा गरी बस्ने दिलकुमारी लिम्बूको उनकै कोठामा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २२ जनाको हत्या भए पनि अधिकांश हत्याका घटनाका संलग्नलाई पक्राउ गरी कारवाही गर्न भने सकेको छैन । जिल्लाको दक्षिणी क्षेत्रमा भएको हत्यामा संलग्न भारततर्फ भाग्ने हुँदा पक्राउ गर्न समस्या परेको जिल्ला प्रहरी प्रमुख राजन अधिकारी बताउँछन् ।