इटहरीः  इटहरीको प्रदेश १ का विभिन्न क्षेत्रहरूमा पुग्ने सडकको ट्रान्जिट शहर मात्रै नभएर कहिलेकाहीँ हाइ प्रोफाइल क्राइमको पनि ट्रान्जिट बन्ने गरेको छ । यसरी इटहरी बद्नाम बन्ने गरेको छ । र, यो बद्नामीको मुख्य पात्रको रूपमा इटहरी प्रहरीको नेतृत्वका अनुहारहरू पर्दै आएका छन् । पछिल्ला केही महिनाहरूमा भएका इटहरीका यी दुई घटनाहरूले त्यसको बारेमा बोल्छन् ।

घटना नम्बर १ः २०७४ पुस १६ गते इटहरीको एक रिसोर्टमा एक बालिकाको बलात्कार भएको थियो । इटहरी–२० तरहराकी १४ वर्षीया बालिकालाई विराटनगरका मनिष श्रेष्ठ र धरानका जकम लिम्बूले बलात्कार गरे । इटहरीको हलगडामा रहेको रोयल रिसोर्टको कोठा नम्बर २१२ मा भएको घटना प्रहरीसम्म आयो ।

प्रहरीले पीडितका कुरालाई बेवास्ता ग¥यो । इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन इन्स्पेक्टर चिरञ्जीवि दाहालले जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीको समर्थनमा मिलापत्र गरे ।

सङ्घीय इकाइ प्रहरी कार्यालय धरानका तत्कालीन एसएसपी हरिबहादुर पालसँग पीडित पुगे । मुद्धा दर्ता भयो । प्रहरीको छानबिन समिति बन्यो । पालकै नेतृत्वमा छानबिन भयो । एसपी विद्यानन्द माझी र दाहाल तत्काल निलम्बनमा परे । हाल अदालतले पनि सो घटनाका आरोपीलाई बलात्कारी प्रमाणित गरेर बलात्कारीहरू जेलमा छन् ।

घटना नम्बर २ः २०७४ फागुन १८ गते उर्लाबारीमा सनम शाक्यको हत्या भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन प्रकरणमा जोडिएका शाक्यलाई ठेकेदार गोरे भनिने चुडामणि उप्रेतीको नेतृत्वमा हत्या भएको थियो । उक्त हत्याको लागि प्रहरीका अधिकारीहरूसहितको सुन गिरोह केही दिन इटहरीमा पनि बसेको थियो ।

त्यो बसाइमा तत्कालीन इटहरीका डीएसपी सञ्जय राउतले संरक्षण गरेका थिए भने उनै राउतले पहिले आफू विमानस्थलमा हुँदा सुन तस्करबाट रकम समेत लिएको अदालतले ठहर गरिसकेको छ । मुद्धाका सहप्रतिवादी विष्णुबहादुर खड्काले १२ लाख रकम सञ्जय राउतले लिएको बयान दिएका थिए । यी कारणले गर्दा राउत निलम्बनमा परे । हाल उनी कारागारमै छन् ।

माथिका २ वटा घटनाहरू इटहरीमा २०७४ को पुस र फागुनमा भएका र प्रहरीको संलग्नता रहेका २ हाइ प्रोफाइल अपराधहरू हुन् । अहिले इटहरीमा चर्किएको अर्को प्रकरणमा पनि इटहरी प्रहरी मुछिएको छ । इटहरीमा रहेर धर्म परिवर्तनदेखि नेपाली पैसा कोरियामा लान सक्रिय पादरी सोङ जे हुनलाई इटहरी प्रहरीले उन्मुक्ति दिएको छ । इटहरी–३ मा रहेको परमेश्वरको मन्डली विश्व सुसमाचार समाज (सियोन) चर्चका वास्तविक प्रमुख हुनलाई नेपालीको घरमा गएर धम्की दिएको र आफ्ना समर्थकहरू ल्याएर कुटाएको किटानी जाहेरी परेको थियो ।

बैशाख ८ गते जाहेरी परे पनि प्रहरीले न कोरियनलाई पक्राउ ग¥यो न छलफलमा हाजिर गराउन ल्यायो । बरु, उल्टै कुटाइ खाएर जाहेरी दिने सोही चर्चकी अनु राईलाई इन्स्सपेक्टर धनेन्द्रहाङ खजुमले मिल्न दबाब दिए । छलफलमा बोलाउनु भन्दा उल्टै हप्कीदप्की गरेको पीडितहरूले बताएका छन् ।

मिडियासँग कुराकानी गर्दा खजुमले धम्क्याएको कुरामा प्रहरीमा होइन अदालतमा जानुपर्ने भन्दै पन्छिए । भिजिट भिसामा आएर नेपालमा धर्म परिवर्तन गर्ने, आफ्ना नेपाली विश्वासी (भक्त)हरूबाट पैसा लिएर कोरिया लाने र नेपालीको घरमै पुगेर धम्की दिने पादरी पीडितलाई प्रहरीले गरेको असहयोगकै कारण इटहरीबाट भाग्न सफल भएका छन् । देशभर धर्म परिवर्तन गर्न आएकै आधारमा प्रहरीले आफैँ सक्रिय भएर विदेशीलाई पक्राउ गरिहेको छ । यता, धम्की दिएको र कुटपिट गरेको किटानी जाहेरी दिँदा र कोरियालीका अन्य धेरै खराब कामहरूको जानकारी गराउँदा पनि इटहरी प्रहरीले भने पक्राउ गरेन ।

अनु राई बाहेकका चर्चका अभिषेक कार्की, आयुषा चौधरी, सूर्यमान मेचे, सुनिल श्रेष्ठलगायत दर्जनौँ पीडितहरूले प्रहरी र पत्रकारहरूलाई कोरियनका अन्य कर्तुतका बारेमा पनि जानकारी गराएका थिए । जस्तो, दशांश (आर्थिक आर्जनको १० प्रतिशत) आउँछ भनेर आमाबाबुसँग जबरजस्ती अंश माग्न लाउने, घरबारी बेच्न दबाब दिने काम गर्ने गरेको धेरै पीडितले बताएका छन् । कार्कीलाई त परिवार नियोजन गर्न लगाएको र चौधरीलाई पटकपटक गर्भपतन गर्न लगाएको जस्ता गम्भीर आरोप लगाएका पीडितहरूको कुरालाई एक अंश नसुनी इटहरी प्रहरीले अनुसन्धान त परै जाओस् सामान्य छलफलमा समेत बोलाएन ।

जनताको सुरक्षा र आत्मीयताको पहरेदार प्रहरीले यसरी पीडितको मनोबल गिराउने गरी काम गर्नु धेरै नराम्रो कुरा हो । यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रहरीप्रति आम मान्छेको विश्वास कमजोर बनाउँछ । केही शक्ति केन्द्र वा कुनै अभाव, दबाब र प्रभावमा प्रहरीले कोरियनलाई अनुसन्धान नगर्नु, उनको १० बर्षे इटहरी बसाइको आधार र राहदानीकोे बारेमा कुनै चासो नदेखाएर अदालत र इमिग्रेसनको नाम लिनु भनेको प्रहरीको शंकास्पद काम हो । यसले इटहरी प्रहरीको इमेजमा नै प्रश्नचिह्न खडा गरेको छ ।

हिजो बलात्कार मिलापत्र र गोरे गिरोहको सुन काण्डमा जसरी इटहरी प्रहरीको राष्ट्रिय रूपमै बदनाम भयो, यो घटनाले पनि त्यस्तै बद्नामीको सङ्केत गरेको छ । यसमा इटहरी प्रहरी गम्भीर हुनैपर्छ ।