पथरीः एक साता अघि पथरीमा ज्यान गुमाएकी रीना बस्नेतको घटनालाई गम्भीर ढङ्गले अनुसन्धान नगरेको भन्दै महिलाहरूले प्रहरीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रहरीले पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानकै आधारमा आत्महत्या हुन सक्ने निचोड निकाल्न खोजेको भन्दै शनिबार केही महिला समूहले पथरी प्रहरी इञ्चार्जको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सांसदसहितका महिलाहरूको समूहले इलाका प्रहरी कार्यालय पथरीमा ज्ञापनपत्र बुुझाएका छन् । उनीहरूले रीनाको हत्या भएको आशङ्का गर्दै दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा उभ्याई महिलालाई निर्धक्क भएर हिँड्न सक्ने वातावरण बनाउन माग गरेका हुन् ।
महिला फेडेरेसन पथरी, पथरी बहुुमुखी क्याम्पसका विद्यार्थी र रीना मृत्यु प्रकरण सम्बद्ध सङ्घर्षरत समितिले शनिबार धर्ना दिँदै प्रशासनको ध्यानाकर्षण गराएको हो । सो समूहमा प्रदेश सभा सदस्य कृष्णकुमारी राई, फेडेरेसनकी नगर अध्यक्ष गोमा दाहाल, विद्यार्थी नेतृ रीता कुलुङ राईलगायतको समूहले पथरीमा शान्ति सुरक्षाको वातावरण सिर्जना गर्न जोडदार माग गरेका छन् ।
इलाका प्रहरी कार्यालयमा धर्ना दिन पुगेको महिलाको समूहले नेपाल प्रहरीले रिना मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेको छ । सो समूहले रीना मृत्यु प्रकरणको सुई प्रहरीले अत्महत्यातर्फ घुमाउन खोजेकोमा घोर आपत्ति समेत जनाएको छ ।
रीनाको शवको प्रकृतिअनुसार प्रहरीले अनुसन्धान नगरी फितलो अनुसन्धान गरेको र अस्पतालले दिएको रिपोर्ट पनि मान्न नसकिने फेडेरेसनकी अध्यक्ष गोमा दाहालले बताइन् । ‘प्रहरीको बर्दी ओढेर गलत के हो सत्य के हो सही छानबिन गर्नुहोस्,’ उनले भनिन् ।
उनीहरूले रीना र पक्राउ परेका कमलको सम्बन्धका बारेमा पनि गम्भीर ढङ्गले अनुसन्धान हुनुपर्ने बताएका छन् । प्रहरीले यस्ता शङ्कास्पद घटनाक्रमलाई नहेरी उनको मृत्यु प्रकरणलाई आत्महत्या पुष्टि गर्न लागे जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनीहरूले बताएका छन्् ।
विद्यार्थी नेतृ रीता कुलुङ राईले घटनाको प्रकृतिअनुसार पछिल्लो समय आएको रिपोर्ट मान्न नगरवासी तयार नरहेको बताएकी छिन् । ‘प्रहरीले नै घटनास्थललाई गम्भीरतापूर्वक लिएन’, उनले भनिन्, ‘सामान्य रूपमा लिएर शुरुदेखि नै घटनाको वास्तविकतालाई ढाकछोप गर्न खोजेको छ ।’
विगत एक हप्ताअघि रहस्यमय तरिकाले मृत फेला परेकी व्यवसायी रीनाको मृत्युको घटनाको सत्यतथ्य छानबिनको माग गर्दै स्थानीय आन्दोलित बन्दै आएका छन् ।
नग्न अवस्थामा मृत फेला परेकी रीना पथरीमै भएको कन्सर्ट हेरेर राति ११ बजे कोठामा फर्किएकी थिइन् । छोराको साथमा गएकी उनी केहीबेर कार्यक्रमस्थलमा बसेर डेरा फर्किएको मृतकका छोराले बयान दिएका छन् ।
घटनापछि २ दिन बजारवासीले सडक अवरुद्ध पारी विरोध कार्यक्रम गरेपछि प्रहरीसँग गत मङ्गलबार झडपसमेत भएको थियो । झडपका क्रममा ७ जना घाइते समेत भएका थिए । आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्याससमेत हानेको थियो ।
रीना मृत्यु प्रकरणलाई प्रहरीले मादक पदार्थ सेवन गरी आत्महत्या गरेको भन्दै घटनाको अनुसन्धान नै फितलो तरिकाले गरेको सङ्घर्षरत समितिले आरोप लगाएको छ । समितिकी संयोजक कविता पराजुलीले प्रहरीको अनुसन्धानमा बाधक नभई सहयोग गर्न तयार रहेको बताइन् ।

शवको प्रकृति र पोस्टमार्टम रिपोर्ट
अघिल्लो शनिबार बिहानै आफ्नै डेरा अगाडिको बाटोमा नग्न अवस्थामा घोप्टो परेर मृत फेला परेकी उनका दुवै खुट्टाको केही भाग ठेलाभित्र पसेको अवस्थामा रहेको थियो । खुट्टामा भने ठूलो चोट देखिएको थिएन । टाउकोमा चोट देखिएकी उनको पैतालमा हिलो माटो टाँसिएको प्रष्ट देखिन्थ्यो ।
सर्वसाधारणले घटनास्थल पुगेको प्रहरीलाई यी तथ्य जानकारी गराउँदा पनि प्रहरीले भने कोठामा प्रयोग गरिएको मादक पदार्थको बोतलको आधारमा मादक पदार्थ पश्चात अर्धचेत अवस्थामा लडेर मृत्यु भएको हुन सक्ने बताउँदै आएको छ । तर, स्थानीय यो मान्न तयार छैनन् ।
घरधनी वीरबहादुर बस्नेत प्रहरीलाई तालीमप्राप्त कुकुर ल्याएर घटनाको अनुसन्धान थालियोस् भन्दा प्रहरीले बेवास्ता गरेको बताउँछन् ।
तेस्रो तलामा बस्ने रीनाको शव भने कोठाभन्दा लगभग ३० फुट दक्षिणमा भेटिएको थियो । उत्तर दक्षिण फर्किएको घरमा कोठाबाट दक्षिणतिर रहेको बाथरुमको सिधा तल बाटोमा उनको शव पनि उत्तर दक्षिण फर्किएको अवस्थामा फेला परेको थियो ।
यदि रीनाको लडेर मृत्यु भएको भए उनको शव पनि पूर्व–पश्चिम फर्केको हुुनुपर्ने तर त्यस्तो नरहेको स्थानीयको भनाइ छ । यता प्रहरीले भने उनको हत्या नभएको बताउँदै आएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम रिपोर्टलाई आधार मान्दै उनको बलात्कार भएको प्रमाण फेला नपरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले कोशीपत्रलाई जानकारी दिएका छन् ।
टेलिफोनमा कुरा गर्दै केसीले शवको ल्याब रिपोर्ट आउन केही समय लाग्ने भए पनि प्रारम्भिक रिपोर्टले टाउको र छातीमा चोट लागेको जानकारी दिएका छन् ।
प्रारम्भिक रिपोर्टले हत्या नभई माथिल्लो तलाबाट सडकमा बज्रिँदा ज्यान गएको हुन सक्ने देखिएको उनले बताए । तर उनका आफन्त, स्थानीय र सङ्घर्ष समितिका सदस्यले भने सो रिपोर्ट मान्न नसकिने बताउँदै आएका छन् ।
अस्पतालले पोष्टमार्टम रिपोर्ट दिएको तर भिसेरा रिपोर्ट आउन बाँकी रहेकाले सो रिपोर्ट आउञ्जेलसम्म आन्दोलन स्थगित गरिएको र चित्तबुझ्दो रिपोर्ट नआए जस्तोसुकै आन्दोलन गर्न पनि व्यापारी तयार रहेको सङ्घर्ष समितिकी संयोजक कविता पराजुली बताउँछिन् ।
पथरीमा यस्ता खाले रहस्यमय मृत्युका घटना १ वर्षको अवधिमा ५ ओटा भएको भन्दै सम्पूर्ण नगर नै असुरक्षित रहेको स्थानीय गणेश खड्का बताउँछन् ।