इटहरीः एक हप्तादेखि चर्चामा रहेको कोरियन काण्डका मुख्य नाइके ‘सङ जे हुन’ फरार भएसँगै चर्चभित्रको विवाद मिल्न सकेको छैन । कोरियाली नागरिकले परमेश्वरको मण्डली बिश्व सुसमाचार समाज (सियोन¬) का विश्वासीमाथि दुव्र्यवहार गरेपछि घटना बाहिर आएको थियो ।

यही बैशाख ७ गते शनिबारका दिन तिनै कोरियाली नागरिकको नेतृत्वको टोलीले इटहरी– २ की अनु राईमाथि हातपात गरेको थियो । उनीसँगै रहेका अभिषेक कार्की र आयुसा चौधरीमाथि पनि दुव्र्यवहार गरेको राईको भनाइ छ ।

उनका अनुसार शनिबार हातपात भएपछि आइतबार नै प्रहरीसमक्ष उजुरी दिइएको थियो । तर त्यसको भोलिपल्ट अर्थात् ९ गते सोमबार मात्र प्रहरीले पीडित पक्ष र सियोनका पदाधिकारीलाई वार्तामा बोलाएको थियो । वार्तामा कोरियन नागरिक उपस्थित नभएपछि छलफल निष्कर्षमा पुगेन । प्रहरीले पीडित र सियोन पक्ष दुवैलाई राखेर सोही दिन साँझ छलफल गराएको पीडित पक्षको भनाइ छ ।

छलफलका क्रममा तत्कालीन (हाल सरुवा भएका) प्रहरी इन्स्पेक्टर घनेन्द्रहाङ खज्ुमले मिलापत्र नगर्ने भए अदालत जानू भन्दै दबाब दिएको पीडित अनु राईले बताइन् । उनका अनुसार कोरियाली नागरिक नआएसम्म छलफलमा नबस्ने आफूहरूको अडानका कारण कुरा नमिलेको हो ।

त्यसको २ दिनपछि अर्थात् बुधबार अनुका छिमेकी देवीप्रसाद चुडाल, अनु र अभिषेक कार्की कोरियाली नागरिकविरुद्ध उजुरी दिन इलाका प्रहरी कार्यलय पुगेका थिए । तर इन्स्पेक्टर खजुमले कोरियाली नागरिकको नाम मात्र टिपेर उजुरी दर्ता नगराई फिर्ता गराएका थिए ।

आफूहरूले कोरियाली नागरिकविरुद्ध किटानी जाहेरी दिएको तर खजुमले अदालत जान वा मिलापत्र गर्न दबाब दिएको छिमेकी चुडालले बताए ।

त्यसपछि इन्स्पेक्टर खजुम सरुवा भएपछि हाल अर्का इन्स्पेक्टर बुद्धि चौलागाईले घटनाको सोधखोज गरिरहेका छन् । तर प्रहरीले पनि कोरियाली नागरिक ल्याएर छलफल गराउन सक्ने अवस्था नरहेको बताउँदै आएको छ ।

सियोनभित्र खैलाबैला भएपछि सियोनका नेपाली प्रतिनिधि नै इटहरी आएका छन् । सियोनको प्रचार गर्ने आधिकारिक संस्था इन्टरनेशनल वी लभ यु फाउन्डेसनका केन्द्रीय अध्यक्ष तेजेन्द्र गौतमसमेत इटहरीमै छन् । उनै गौतमले घटनाको विषयमा आफू माफी माग्न तयार भएको बताउँदै आएका छन् ।

पीडित अभिषेक कार्की कोरियाली नागरिकलाई झिकाएर माफी मगाउनुपर्ने पक्षमा छन् । उता सियोन पक्षले भने त्यो सम्भव नभएको बताउँदै आएको छ । पीडित पक्ष भने अझै पनि कोरियाली नागरिकलाई झिकाएर मात्र समस्या समाधान गर्ने पक्षमा छ ।

उता, इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख समीरचन्द्र खरेलले घटनाको विषयमा प्रहरीलाई बदनाम गराउन खोजिएको बताए । ‘पीडितहरू प्रहरीसमक्ष उजुरी लिएर आएका छैनन्, तर प्रहरीले उजुरी नलिएको भन्दै प्रचार गरिएको छ’, उनले भने, ‘घटनालाई अतिरञ्जित बनाउने प्रयास भइरहेको छ ।’