बेलबारीः मोरङको बेलबारी–६ कसेनीकी २७ वर्षीया सिर्जना राई (मुना) को रहस्यमय मृत्युपछि बेलबारी नगरपालिका वडा नम्बर ६ ले नयाँ मोड लिएको छ ।

सिर्जनाको परिवारका सदस्यले हिजो पत्रकार सम्मेलन गरेर वडा अध्यक्षले दुःख दिएको भनेका थिए । तर आज वडाध्यक्ष उदयबहादुर राईले एक विज्ञप्ति जारी गर्दै आफूमाथि विभिन्न बहना बनाएर झुटो आरोप लगाइएको बताएका छन् । सिर्जनाको गत वैशाख ५ गते मृत्यु भएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको र डाक्टर तथा प्रहरीले पोष्मार्टम नगरी परिवारलाई मृतक सिर्जनाको शव नदिने भनेपछि छानबिन गरियोस् भनेर चासो मात्रै लिएको वडाध्यक्ष राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

‘वडाका जोसुकै भए पनि असामयिक मृत्युप्रति मैले चासो राख्नु मेरो कर्तव्य तथा अधिकार सम्झेको छु’, विज्ञप्तिमा भनिएको छ, ‘वडामा शान्तिसुरक्षा कायम गराउन खोज्दा विभिन्न बहाना बनाई झुटा आरोप लगाइएको छ ।’