विराटनगरः आइतबार प्रदेश नम्बर १ को संसद बैठकमा पथरी घटनाले प्रवेश पाएको छ । बैठकको शून्य समयमा बोल्दै सांसद उपेन्द्र घिमिरेले ५ महिनामा भएका ६ ओटा घटनाका दोषी पत्ता नलाग्नुु दुखद रहेको भन्दै प्रदेशसभामा जानकारी गराएका छन् ।
घिमिरेले एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रहस्यमय मृत्युको घटना बाहिर आउँदा समेत प्रहरीले दोषी पत्ता लगाउन नसक्नुु आश्चर्यपूर्ण रहेको बताए । पथरीका जनताले शान्तिसुरक्षाको प्रत्याभुतिका लागि सडकमा आवाज उठाइरहेको भन्दै पछिल्लो समय रीना मृत्यु प्रकरणलाई पनि गहिरो ढङ्गले अनुसन्धान गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘रीना मृत्युको कारण पत्ता लगाउन नसक्नु दुुखद हो,’ उनले भने, ‘यस विषयमा प्रदेश सरकारले गम्भीर चासो लिनुपर्छ ।’ उनले पीडित पक्षलाई यशाशीघ्र राहत दिन पनि माग गरेका छन् ।
त्यस्तै, अर्की सांसद कृष्णकुमारी राईले कानुनी जटिलताका कारण गहिरो अनुसन्धान हुन नसकेको बताएकी छिन् । शङ्का लागेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीले कानुनी जटिलता देखाउने गरेको भन्दै नयाँ अपराध संहिताका कतिपय प्रावधानले दोषी उम्कन सक्ने अवस्था उत्पन्न भएको बताइन् ।
नीति निर्माण तहमा रहेका व्यक्तिले यस्ता कानुनी जटिलता फुुकाउँदै जानुपर्ने उनले तर्क गरिन् । पथरीको घटनालाई जतिसक्दो छिटो न्याय दिन माग गर्दै पथरीको जनजीवन सामान्य बनाउनुपर्ने धारणा उनले राखिन् ।
गत शनिबार पथरी नगरपालिकामा रीना बस्नेतको शंकास्पद मृत्यु भएको थियो । पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेत कोठानजिक मृत फेला परेकी थिइन् । उनको मृत्युपश्चात पथरी तनावग्रस्त बनेको थियो ।
बीपी प्रतिष्ठानमा भएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले रीनाको लडेर टाउको र छातीमा चोट लागेको र मृत्युको कारण यही हुन सक्ने देखाइएको छ । तर, यो रिपोर्ट मान्न उनका आफन्त र पथरीवासी तयार छैनन् । यद्यपि उनको मृत्युको ९ दिनपछि भने आफन्तले शनिवार चतरामा उनको अन्तिम संस्कार गरेका छन् ।