इटहरीः पछिल्लो एक हप्तादेखि विवादित बनेको क्रिस्चियन (सियोन) प्रकरणमा नयाँ घटना बाहिर आएको छ । इटहरीका अभिषेक कार्की लगायतको समूहमाथि दुव्र्यवहार भएको विषय सेलाउन नपाउँदै अर्का पीडित फेला परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका स्थायी घर भएका राजेन्द्र सिटौलाले क्रिस्चियन धर्ममै लागेर सम्पूर्ण सम्पत्ति सकेको खुलाएका छन् । त्यतिमात्रै होइन सम्पत्ति सकिएको तनावका कारण उनकी श्रीमतीको मानसिक सन्तुलन समेत गुमेको छ ।
केही दिनअघि सार्वजनिक भएको अभिषेक कार्की र आयुसा चौधरीको भिडियो भाइरल भएपछी उनीपनि गुनासो लिएर इटहरी आएका हुन् । हाल इलामको फिक्कलमा जुत्ता चप्पलको पसल सञ्चालन गर्दै आएका उनी आफ्नो कुरा सार्वजनिक गर्न इटहरी आएका थिए ।
सन् २००८ देखि परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन) को सदस्य बनेका हुन् सिटौला । सिटौलाका अनुसार झापामा बस्दा धेरै दुःख खेप्नुपरेको थियो । त्यसपछि केही गनुर््प¥यो, सधैँ दुःख खेपेर हुँदैन भन्दै उनी धेरैले नभेट्ने ठाउँ भनेर काठमाडौ गए । त्यसबेला उनलाई कसैको साथ र सहयोगको खाँचो परिरहेको थियो ।
उनले काठमाडौंको नयाँ बजारमा गएर एक गार्मेन्ट उद्योगमा सेक्युरिटी गार्डको काम गर्न थाले । केही दिनको काम गरेपछि एक महिलासँग उनको भेट भयो । तिनै महिलाले सिटौलाजस्ता दुःखी गरीबको सेवा गर्ने र समस्याबाट मुक्ति दिलाइदिने बताइन् ।
त्यसपछि उनी धुम्बाराहीमा रहेको सियोनको कार्यालयमा धाउन थाले । त्यत्ति मात्रै होइन उनी र उनको परिवार मुक्तिको लोभमा सियोनको सदस्य नै भए ।
केही महिना काठमाडौंको बसाइपछि उनी पुनः बिर्तामोड फर्किए । बिर्तामोडको सियोनमा उनको बाक्लै उपस्थिति भयो । उनकी श्रीमती धनमाया उनीभन्दा झन् धेरै आकर्षित भइन् । सम्पूर्ण जीवन नै सियोन हो भन्ने गरी उनी लागिन् । उनको सियोनप्रतिको लगाव बुझेर बिर्तामोड सियोनका प्रमुख पर्शुराम तिम्सिनाले भेटीबापतको रकम बुझाउन भन्न थाले ।
केही समय भेटी बुझाएपछि सन् २०१२ मा विश्व प्रलय हुन्छ भन्ने हल्ला फैलियो । त्यसपछि तिनै तिम्सिनाले सन् २०१२ मा हुने विश्व प्रलयबाट बच्न भन्दै थप पैसा माग्न थाले । विश्व प्रलय भए पनि सियोन चर्चहरूमा केही असर नपर्ने उनीहरूले बताएका थिए । विश्व प्रलयपछि बच्न र खानको लागि भेटी जम्मा गर्नुपर्ने दबाब दिन थाले ।
सिटौलासँग भेटी दिनको लागि पर्याप्त पैसा थिएन । त्यसपछि उनले आफ्नो नाममा भएको जग्गा बिक्री गर्ने निर्णय गरे । धुलाबारीमा रहेको ११ कठ्ठा जग्गा ७ लाखमा बिक्री गरे । भएभरको सबै सम्पत्ति उनले बिक्री गरेका थिए ।
‘जग्गा बिक्री भएपछि शुरुमै ६० हजार रुपैयाँ क्यास भेटी चढायौँ,’ उनले भने, ‘त्यसपछि जग्गा बेचेको दशांश र बाँकी भेटी बुझाउँदाबुझाउँदै ७ लाख सकियो । अनि सुकुम्बासी भइयो ।’
पछि २०१२ मा विश्व प्रलय नभएपछि माता परमेश्वरले विश्व बचाएको भन्दै आश्वासन दिने गरेको उनी बताउँछन् । उनकी श्रीमती धनमाया सोही चर्चमा काम गर्थिन् । पछि तिनै तिम्सिनाले धनमायालाई टिम लिडर बनाउने र कोरिया लैजाने आश्वासन दिए । उनी पनि टिम लिडर बन्न राजी भइन् ।
तर त्यसको लागि २ लाख रुपैयाँ भेटी माग भयो । उनले भेटी बुझाउन सकिनन् । त्यसपछि उनलाई सियोनबाट निकालियो । उनलाई सियोनविरोधी, अगमवक्ताको विरोधीजस्ता आरोप लगाएर निकालियो ।
धनमायामा मानसिक बिराम देखा पर्नुको मुख्य कारण त्यही रहेको बताउँछन् राजेन्द्र । ‘उनी बिस्तारै डिपे्रसनको रोगी बन्दै गइन् । उपचारको लागि पाटन अस्पतालसम्म पु¥यायौँ । तर नियमित औषधी सेवन नगरेका कारण झनै समस्या बढेर गएको छ’, उनी भन्छन्, ‘उनको हालको अवस्था धेरै नाजुक छ । कहिले हिँडिरहने, कहिले चिच्याउने त कहिले हाँसिरहनेजस्ता मानसिक समस्या देखा परेका छन् । पहिला मुक्ति मिल्छ भन्नेले पैसा होउञ्जेल चुसे । अहिले हेला गर्न थाले ।’
एक छोरा र एक छोरीका बाबु राजेन्द्रले न्याय पाउने आशमा इटहरी आएको बताए । अभिषेकको भन्दा आफ्नो पीडा दर्दनाक भएकाले पीडा सुनाउनकै लागि इटहरी आएको उनले बताए ।
२०१२ अगाडि सियोनमा लागेकाहरू सबैमा पीडा रहेको तर कसैल ेपनि ओकल्ने आँट गर्न नसकेको उनी बताउँछन् । धेरै प्रलोभनमा परेर सियोनमा लाग्नेहरूलाई आफूजस्तै नफस्न सल्लाह दिन्छन् उनी । भन्छन्, ‘अब कोही पनि यस्तो भ्रममा नपर्नुहोला । मैले जस्तो दुःख पाएर नपछुताउनुहोला ।’