इटहरीः इटहरीमा रहेर दशक बढीदेखि धर्म प्रचारमा सक्रिय र नेपालीलाई घरमै गएर धम्की दिने कोरियन पादरी सोङ जे हुनको तर्फबाट उनका सहयोगीहरूले माफी मागेका छन् । उनी इटहरी–३ मा रहेको युकी चाउचाउ फ्याक्ट्री क्षेत्रमा रहेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)का हर्ताकर्ता हुन् । चर्चका एक जानकारका अनुसार पादरी पक्राउका लागि उजुरी परेको भोलिपल्टै इटहरीबाट काठमाडौ हुँदै कोरिया फर्केका छन् ।
अनु राई, आयुसा चौधरी, अभिषेक कार्की, सुलेमान मेचे, सुनिल प्रधान आदिसँग मण्डलीका तर्फबाट माफी मागिएको छ । मण्डलीको तर्फबाट सुमन योञ्जन, गणेश खनाल, रसन्त श्रेष्ठ र भरत तामाङले माफी मागेको पीडित अभिषेक कार्कीले बताए । अब यस्तो कार्य नगर्ने भन्दै माफी मागेको कार्कीले बताए । उनले भने, ‘कोरियन नागरिकको अनुपस्थितिमा माफी मागेकोले खल्लो लागेको छ ।’
यसरी बाहिरियो कोरियन पादरी प्रकरण
यही बैशाख ७ गते सोही चर्चकी विश्वासी इटहरीकी अनु राईको घरमै पुगेर कोरियन पादरी सोङ जे हुनले धम्की दिए । उनको उक्साहटमा अनु राईलाई आयुसा राईले कुटपिट गरिन् । अभिषेक कार्कीलाई भने जयराम राईले अश्लील गाली गरेर धम्की दिए । कुटपिट र धम्कीपछि बैशाख ८ गते किटानी जाहेरी दिए पनि कोरियनलाई प्रहरीले पक्राउ गरेन ।
चर्च नजिकै रहेको अनु राईको घरमा चर्चका विश्वासीहरू अभिषेक कार्की, आयुसा चौधरीलगायत भएको अवस्थामा कोरियन नागरिक आएर धम्क्याएको पीडितहरूले बताए ।
कोरियन पादरीले चर्चमा भनेका विभिन्न १५ सवालहरूमा प्रश्न गरेको आधारमा आफूहरूलाई घरमै आएर कोरियन मूलका नागरिक हुनले आफूहरूलाई धम्क्याएको पीडित तथा सोही चर्चका विश्वासी अभिषेक कार्कीले बताए । ‘हामी बसिरहेको अवस्थामा घरमै आएर हुनले गर्न खोजेको के हो भन्दै धम्क्याए’, कार्कीले भने, ‘त्यसपछि चर्चका मान्छे ल्याएर कुटपिट गरियो ।’
२०१२ मा संसार सकिन्छ भनिएको, बाइबललाई तोडमोड गरिएको लगायतका चर्चका कोरियन पादरीले गरेका विभिन्न १५ हर्कतमा प्रश्नहरू गरेपछि मान्छे उचालेर धम्की दिएको, प्रमाण नष्ट गर्न दबाब दिएको पीडित कार्कीले बताए । चर्चलाई दशांश (कुल आर्जनको १० प्रतिशत) दिने नाममा विश्वासीहरूलाई अंश माग्न लगाउने, डिभोर्स गर्न उक्साउने, चर्चका फुलटाइमर पुरुषलाई परिवार नियोजन गर्न लगाउने र महिलाहरूको गर्भपतन गर्न लगाउने गरेको पनि पीडितहरूले बताएका छन् ।
किटानी जाहेरी परे पनि प्रहरीले पक्राउ नगर्दा कोरियाली फरार
नेपालीलाई घरमै गएर धम्की दिएको र मान्छे उचालेर कुटपिट गरेको बारेमा बैशाख ८ गते उजुरी दिए पनि प्रहरीले कोरियनलाइ पक्राउ गरेन । पीडितहरूले कोरियनलाई छलफलमा राख्नुपर्छ भन्दा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनेन्द्रहाङ खजुमले पीडितहरूलाई बाहिर निकालेर छलफल हुन नदिएको पीडितले बताए ।
कोरियन ल्याएपछि मात्रै छलफल हुन्छ भनेपछि सञ्चारकर्मीहरूलाई समेत जबरजस्ती बाहिर जानू भनी खजुमले थर्काएको छलफलका प्रत्यक्षदर्शी पत्रकार विकल पौडेलले बताए । पीडितहरूले इलाका प्रहरी कार्यालय अगाडि रोइकराई गरे पनि प्रहरीले कोरियन नागरिकलाई छलफलमा समेत नबोलाएको पौडेलले बताए । कतिसम्म भने नक्कली सफ्टवेयर कम्पनी खोलेर भिजिट भिसामा नेपालमा बस्ने कोरियनले नेपालीको लाखौँ पैसा दशांशको नाममा कोरिया लाने पीडितहरूले बताएका छन् ।
यता, इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईंले भने कोरियनलाई खोजी गर्न इलाका प्रहरी कार्यालय सक्रिय भएको बताए । जाहेरी हाल्नेबित्तिकै किन छलफलमा ल्याइएन वा पक्राउ गरिएन भन्ने प्रश्नमा चौलागाईंले भने, ‘विदेशी नागरिकलाई पक्राउ गर्न अदालतको आदेश आवश्यक पर्ने भएकाले पक्राउ गरिएन ।’
१० वर्ष अघिदेखि इटहरीमा धर्म प्रचारमा सक्रिय भएका कोरियालीका बारेमा किन जानकारी भएन भन्ने प्रश्नमा भने चौलागाईंले प्रहरीको सूचना संयन्त्र ‘इन्टेलिजेन्स’ले जानकारी नदिएर समस्या भएको बताए ।