पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षीया रीना भनिने रुपा बस्नेतको न्यायको लागि गठित सङ्घर्ष समिति विगठन भएको छ ।
सो घटनाको वास्तविकता पत्ता लगाउनको लागि प्रहरीलाई दबाब दिने उद्देश्यले पथरी उद्योग वाणिज्य सङ्घकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा गठित सङ्घर्ष समिति विगठन भएको हो ।
यसै बीचमा घटनाको वास्तविकता पत्ता लगाई दोषीलाई कानुनी कारवाही गर्न माग गर्दै शनिबार नगर महिला फेडेरेसन, पथरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको समूह र सङ्घर्ष समितिले इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।
टोलीमा प्रदेश नम्बर १ की सांसद कृष्ण कुमारी राई, नगर महिला फेडेरेसनकी अध्यक्ष गोमा दाहाल, विद्यार्थी नेतृ रीता कुलुङ राई लगायत सहभागी थिए ।
अहिलेसम्म प्रहरीले घटनाका विषयमा २ दर्जनसँग सोधपुछ गरिसकेको बताएको छ । मृत्यु भएकी रीनाको सम्पर्क र कनेक्सन व्यापारी एवं समाजका प्रतिष्ठित व्यक्तिहरुसँग रहेको देखिएको छ । त्यही सम्पर्कका आधारमा थप अनुसन्धान गर्ने र कनेक्सन खोतल्ने काम भइरहेको डीएसपी श्रेष्ठको भनाइ छ ।
त्यस क्रममा रीनाका प्रेमी भनिएका र उनीसँग निरन्तर सम्पर्कमा रहने गरेका मोरङको सुन्दरहरैंचाका व्यापारी कमल नेपाललाई यसअघि नै पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनलाई अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक सुवास भट्टराईले बताए । रीनासँग लामै कनेक्सन देखिएपछि उर्लाबारीका व्यापारी नेत्र घिमिरेलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
रीनाका आफन्त र परिवारका सदस्यले भने घटनाको अनुसन्धान नै प्रभावित पार्ने गरी आन्दोलन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । हिंसा भड्काउने र घटनालाई अतिरञ्जित बनाउने काम भएको परिवारको बुझाइ छ ।