पथरीः पथरीमा ९ दिनअघि रहस्यमय ढङ्गले मृत्यु भएकी रीना बस्नेतको घटनापछि गठिन सङ्घर्ष समिति विगठन हुनुको मुख्य कारण पीडितले सङ्घर्ष समितिलाई असहयोग गरेको बताइएको छ ।
मृतक रीनाको घर तथा माइती परिवार, उद्योग वाणिज्य सङ्घ र स्थानीय सरकारका प्रतिनिधिको बैठकले आन्दोलनमा उत्रेको सङ्घर्ष समितिलाई बेवास्ता गरेको बताइएको छ । सङ्घर्ष समितिलाई ‘बायस’ गरेपछि अब कुनै पनि प्रकारका दबाबकारी भूमिका निर्वाह नगर्ने भन्दै घोेषित अन्दोलनका कार्यक्रम फिर्ता लिएको संयोजक कविता पराजुलीले बताइन् ।
‘रीना एउटा प्रतिनिधि पात्र मात्र हो । नगरमा २ महिना बित्न नपाउँदै एकै प्रकृतिका २ वटा घटना हुँदासम्म प्रहरी प्रशासन मौन रहँदा नगर नै सशङ्कित भएको छ,’ पराजुलीले भनिन्, ‘न्यायका निम्ति हामी लडिरहँदा परिवार र आफन्तले साथ दिएनन् । हामीलाई खबर नगरिएका कारण अन्त्येष्टिमा पनि गएनौं ।’
परिवारका सदस्य र आफन्तले साथ नदिएपछि आन्दोलनका लागि भनेर गठन गरिएको सङ्घर्ष समिति आइतबार विगठन गरिएको छ ।
रीनाका आफन्त र परिवारका सदस्यले भने घटनाको अनुसन्धान नै प्रभावित पार्ने गरी आन्दोलन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । रीनाका जेठाजु दुर्गाबहादुर बस्नेतले घटनापछि अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानबाट आफन्त र परिवारका सदस्य सन्तुष्ट रहेको बताए ।