इटहरीः नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार शुरु भएको छ । नाडेपको १६ लाख कित्ता सेयर बिहीबार नै सूचीकृत भई कारोबार पनि शुरु भएको हो ।
यसअघि कुनै पनि कम्पनीको सेयर सूचीकृत भएको १ सातापछि मात्रै कारोबार खुल्ने गथ्र्याे ।
तर, धितोपत्र बोर्ड र नेप्सेको विवादका कारण झण्डै ४० दिनपछि सेयर सूचीकृतको बाटो खुलेकाले नाडेपको भने सेयर सूचीकृत हुनसाथ कारोबार खुलेको हो ।
नाडेपले पहिलो कारोबारका लागि प्रतिकित्ता १९९ रुपैयाँ देखि ५९७ रुपैयाँ ओपन रेन्ज पाएको छ । कम्पनीको सेयर कारोबार सङ्केत पनि नाडेप (एनएडीइपी) तोकिएको छ । सो कम्पनीले असार १० देखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

शतप्रतिशत हकप्रद पारित
यसैबीच, सेयर सूचीकृत नहुँदै नाडेपले भदौ १ गते वार्षिक साधारण सभा गरी शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आइपीओ बिक्रीपछि कायम १६ करोड रुपैयाँ पूँजीमा शतप्रतिशत हकप्रद बिक्री हुन लागेको हो ।

खुद नाफा ओरालो
नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको भन्दा ३२.७३ प्रतिशतले कम हो । अघिल्लो वर्ष नाडेपले ७ करोड २ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सम्भावित जोखिमका लागि २ करोड १० लाख ८ हजार रुपैयाँ छुट्याएको नाडेपको खराब कर्जा बढेर ३.३१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष नाडेपको खराब कर्जा २.९८ प्रतिशत थियो । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा छ । जुन समग्रमा राम्रै मान्नुपर्छ । तर खराब कर्जा बढ्दै जानुले सो कम्पनीमा लगानीकर्ताको कम आकर्षण हुन सक्ने सम्भावना देखिन्छ ।