इटहरीः भदौ लागेपछि निरन्तर ओरालो लागेको सेयर बजारले कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि ओरालो गति नै तय गरेको छ ।
बिहीबार दिउँसो १ बजेसम्मको अवस्था हेर्दा नेप्से सूचक ४.४० अङ्कले घटेर ११७८.०२ अङ्कमा आइपुगेको छ ।
नागरिक लगानी कोषको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । सो कम्पनीको सेयर मूल्य ३.९३ प्रतिशतले बढे पनि जम्मा २० कित्ता मात्रै कारोबार भएको छ । त्यस्तै, सबैभन्दा धेरै ५.३९ प्रतिशतले सेयर मूल्य घट्ने ङादी पावरको ४४ कित्ता मात्रै सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १० समूहमध्ये फाइनान्स र अन्य समूहमा मात्रै हरियाली छाएको छ । जम्मा १ सय १६ कम्पनीको ३ लाख १६ हजार कित्ता सेयर १ बजेसम्ममा कारोबार भएको छ ।

एनएमबिको धेरै कारोबार
हिजो मात्रै एफपिओ सूचीकृत भएको एनएमबि बैंकको धेरै रकमको कारोबार भएको छ । जम्मा ८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार हुँदा एनएमबिको मात्रै ३ करोड ५६ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबार रकममा दोस्रो स्थानमा जनता बैंक र तेस्रो स्थानमा एशियन लाइफ इन्स्योरेन्स रहेका छन् ।