इटहरीः साताभर नेप्से घटेको छ । साउन अन्तिम साता अप्रत्याशित रूपले बढेको बजारले फेरि ओरालो गति कायमै राखेको हो । कारोबार रकमले लगानीकर्तालाई केही आशावादी बनाए पनि एकै दिनको कारोबार रकमबाट बजारको आगामी दिशा अनुमान गर्न सजिलो हुँदैन । बिहीबार पनि औसतभन्दा कारोबार बढेको मात्रै हो । उल्लेख्य कारोबार भने भएको होइन ।

४ अङ्कले सूचकमा गिरावट
साताको अन्तिम कारोबारको दिन नेप्से सूचक बिहीबार ३.९२ अङ्कले घटेर ११७८.५० अङ्कमा आइपुगेको छ । समग्रमा बजार ०.३३ प्रतिशतले झरेको हो । कुल १ सय ५९ कम्पनीको २७ करोड ७३ लाख ८ हजार २ सय ६६ रुपैयाँको सेयर बिहीबार किनबेच भएको छ । १० लाख २० हजार ५ सय ९५ कित्ता सेयर ३ हजार ५ सय २ पटक किनबेच भएका थिए ।

२ समूहमा हरियाली
कारोबार भएका १० वटा समूहमध्ये २ वटा बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह साढे २ प्रतिशतले झर्दा सबैभन्दा कम फाइनान्स समूहको सूचक ०.०१ प्रतिशतले झरेको छ ।
विकास बैंक समूहको सूचक सबैभन्दा कम ०.०१ प्रतिशतले बढ्दा अन्य समूहको सूचक ०.७१ प्रतिशतले बढेको छ ।

कारोबार रकम, सङ्ख्या र सेयर सङ्ख्यामा एनएमबि अग्रस्थानमा
बिहीबार कारोबार रकम, कारोबार सङ्ख्या र सेयर सङ्ख्यामा एनएमबि बैंक अगाडि आएको छ । सो बैंकको बुधबार मात्रै एफपिओ सूचीकृत भएकाले बिहीबार बिक्री चाप बढेकाले मूल्य घटेर उच्च कारोबार भएको अनुमान गरिएको छ ।
एनएमबिको ४ करोड ९५ लाख ३३ हजार ८ सय १२ रुपैयाँको सेयर किनबेच हुँदा एनएलजी इन्स्योरेन्सको ३ करोड १० लाख ८६ हजार ५सय ४४ रुपैयाँको सेयर किनबेच भएको थियो । कारोबार रकमका आधारमा तेस्रो स्थानमा रहेको जनता बैंकको १ करोड ६ लाख २९ हजार २ सय ५१ रुपैयाँको सेयर किनबेच भएको थियो ।
सेयर सङ्ख्यातर्फ एनएमबिको १ लाख ६१ हजार ४ सय १३ कित्ता सेयर किनबेच भएको थियो । जनता बैंकको ६९ हजार ७ सय २७ कित्ता र मेघा बैंकको ४६ हजार १ सय १० कित्ता सेयर किनबेच भएको थियो ।
कारोबार सङ्ख्यातर्फ एनएमबिको ३ सय ७९ पटक कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको १ सय ४५ पटक कारोबार भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको १ सय १८ पटक कारोबार हुँदा मेघा बैंकको १ सय २ पटक कारोबार भएको थियो । अन्य कुनै कम्पनीको कारोबार सङ्ख्याले ३ वटा डिजिट छुन सकेन ।

मूल्य बढ्नेमा म्युचअल फन्ड
बिहीबार बजार घटे पनि मूल्य बढ्ने कम्पनीको सूचीमा म्युचुअल फन्ड परेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको समृद्धि फण्ड १ को ६ प्रतिशत सेयर मूल्य बढ्दा लक्ष्मी भ्यालु फन्ड १ को ४.४६ प्रतिशत सेयर मूल्य बढेको छ । नागरिक लगानी कोषको सेयर मूल्य ३.९३ प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्त र सिर्जना फाइनान्सको सेयर मूल्य ३.६० प्रतिशतले बढेको छ ।

मूल्य घट्नेमा युनिलिभर
अघिल्लो साता एकै दिन ६ प्रतिशतले सेयर मूल्य बढेको युनिलिभर नेपाल लिमिटेडको बिहीबार ३.९५ प्रतिशतले सेयर मूल्य घटेको छ । सप्तकोशी विकास बैंकको ३.३६ प्रतिशतले मूल्य घट्दा कन्काइ विकास बैंकको सेयर मूल्यमा ३ दशमलव २५ प्रतिशतका दरले गिरावट आएको छ । कृषि विकास बैंक र एनएमबि बैंकको सेयर मूल्य पनि साढे २ प्रतिशतभन्दा बढीले झरेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब २ अर्ब कायम भएको छ ।