विराटनगरः प्रदेश नम्बर १ को नाम र राजधानी टुङ्गोमा पु¥याउन सत्तारुढ नेकपाले विपक्षीसहित आफ्नै सांसदसँग छलफल गरेको छ । पार्टीले नै दुवै विषय टुङ्गोमा पु¥याएर संसदीय दल हुँदै प्रदेशसभामा लैजाने तयारी भएको छ ।

बिहीबार बिहानदेखि साँझसम्म विराटनगरको होटल बिगमा चरणबद्ध रूपमा बैठक भएको हो । नेकपा प्रदेश १ का कमिटी इन्चार्ज भीम अचार्य, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे, सचिव सुरेश राई, संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईसहितका नेता बैठकमा सहभागी थिए ।

पहिलो चरणमा सगरमाथा अञ्चलको उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका प्रदेश सांसदसँग छलफल भएको हो । दोस्रो चरणमा प्रमुख विपक्षी काङ्ग्रेससहितका दलसँग नाम र राजधानीको विषयमा मुख्यमन्त्री आफैंले छलफल गरेका थिए ।

सहमति गरेर अघि बढ्ने विषयमा बैठकमा छलफल भएको काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् । भने, ‘सरकारले सकारात्मक रूपमा प्रस्ताव ल्याएकाले हामी पनि सर्वसहमतिको पक्षमा छौं ।’ कुन ठाउँ विशेषमा राजधानी र नाम के हुने भन्ने चाहिँ कार्कीले स्पष्ट गरेनन् ।

नामको विषयमा भने विज्ञहरूसँगसमेत छलफल गर्नुपर्ने पक्षमा आफूहरु रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहम्फेले बताइन् । उनले भनिन्, ‘विराटनगरको विषयमा मुख्यमन्त्री पनि सकारात्मक हुनुहुन्छ । हाम्रो पनि उत्तिसारो आपत्ति छैन । तर नामको विषयमा भने हामीले पहिचानलाई ध्यान दिन आग्रह गरेका छौं ।’

नेकपा सम्बद्ध मेची र कोशी अञ्चलका सांसदसँगको छलफलमा सांसदहरुले राजधानीको विषयमा आफ्नो भनाइ राखेका थिए । नेकपा प्रदेश १ का सहइन्जार्च सावित्रीकुमार काफ्लेले सबैको विचार लिएर अघि बढ्ने बताए । भने, ‘पार्टी एकीकरणपछि पनि घनीभूत छलफल भएको थिएन । अब नाम र राजधानी दुवै विषयमा हामी छलफलमा छौं । सबैलाई मान्य हुने परिणाम ल्याइने छ ।’

प्रदेशको नाम र राजधानीको विषयमा सहमति नजुटेपछि प्रदेशसभाको बिहीबारको बैठक सचिवालयले सूचना प्रकाशित गरी आइतबारका लागि सारेको छ । विराटनगर, इटहरी, धरान, धनकुटा र गोठगाउँ राजधानीको दौडमा छन् । यसैगरी कोशी, कोशी–किरात, किरात, विराट, सगरमाथा, लिम्बुवान नाम हुनुपर्ने भन्दै विभिन्न क्षेत्रका माग मुखरित भएका छन् । पार्टीले छलफल गरेर निष्कर्षमा पुग्ने विषयलाई नै प्रदेशसभामा प्रवेश गराउने पार्टीका सहइन्चार्ज काफ्लेले बताए ।
यता प्रदेशका बहुसङ्ख्यक नेकपा सम्बद्ध सांसदले विराटनगरइतर राजधानी हुनुपर्ने विचार राख्दै हस्ताक्षर सङ्कलन थालेपछि दललाई निर्णय लिन कठिन भएको बुझिन्छ । बुुधबार इटहरीमा गोप्य भेला गर्दै नेकपाका सांसदले इटहरीकेन्द्रित राजधानीको विषयमा मत सङ्कलन गरेका थिए ।
इटहरी क्षेत्रबाट प्रदेश नम्बर १ मा प्रतिनिधित्व गर्ने सांसद सर्वध्वज साँंवा र लीलम बस्नेतको अगुवाइमा मत मिल्ने सांसदको हस्ताक्षर सङ्कलन गरिएको हो । नेपाली कागजमा हस्तार गरेर दललाई बुुझाउने बताइए पनि यसबारे दलका नेताले पहिल्यै पत्तो पाइसकेका थिए ।

तर, संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने सांसदको हस्ताक्षरको कारण बैठक प्रभावित नबनेको तर्क गरे । हस्ताक्षर सङ्कलन भएको बारे सुनिए पनि त्यसले पार्टीको शीर्ष तहको बैठकलाई कुनै असर नपार्ने उनले जानकारी दिए ।
‘उहाँहरुले आफ्नो धारणा सङ्कलन गर्नुभएको होला’, उनले भने, ‘त्यसले फरक पार्दैन, बरु सांसदहरुको धारणा बुझ्न मद्दत नै गर्ला नि !’

बिहीबार तय गरिएको संसदीय दलको बैठक नेताहरुको छलफलको कारण भन्दै शुक्रबार दिउँसो १ बजेका लागि सारिएको छ । यस अघि नेताहरुले छलफलका माध्यमबाट बाँकी विषय टुुङ्ग्याउने कसरतमा लाग्ने हुँदा शुक्रबार नै प्रदेशका २ वटा मूल मुद्दा किनारा लाग्ने बुुझिएको छ ।