धनकुटा: धनकुटा नगरपालिकाको ल्याण्डफिल साइटमा फोहोरमैला व्यवस्थापनका बारेमा जिल्लाका कार्यालय प्रमुखको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र सहायक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको समन्वयमा बसेको बैठकले कार्यालयको सरसफाइको बारेमा छलफल गरेको थियो ।
देशकै नमुना र सफा ल्याण्डफिल साइटको रूपमा चिनिएको सो ल्याण्डफिल साइटमा सिडिओ कार्कीले बैठक बसाएका हुन् । बैठकमा कृषि, भेटेरीनरीदेखि सञ्चय कोष हुँदै धनकुटाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई बोलाइएको थियो ।
बैठकले कार्यालय परिसरमा फोहोर नफाल्ने र नबाल्ने निर्णय गरेको ल्याण्डफिल साइटका परिकल्पनाकार तथा नगरपालिकाको वातावरण शाखाका अधिकृत उपेन्द्र खनालले बताए । कार्यालयमा हरियाली बढाउने विषयमा पनि सर्वसम्मत निर्णय भएको उनले बताए ।
धनकुटाको ल्याण्डफिल साइट मानव बस्तीबाट ३ सय मिटर मात्रै पर छ । कुहिने फोहोर घरमै व्यवस्थापन गर्ने र नकुहिने मात्रै सङ्कलन गरिने भएकाले यो ल्याण्डफिल साइटमा दुर्गन्ध आउँदैन । ३० रोपनी क्षेत्रफलमा फैलिएको यो ल्याण्डफिलमा फूलबारी पनि लगाइएको छ । जसले गर्दा गन्ध नआएर बासना आउँछ ।
धनकुटाको आकर्षक फोहोर व्यवस्थापनकै कारण धनकुटा २०७३ सालमा सबैभन्दा सफा दोस्रो नगर घोषित हुँदै पुरस्कृत भएको थियो । यस्तै, २०७४ मा भने देशको सबैभन्दा सफा नगरको रूपमा प्रथम पुरस्कार पाएको थियो । सो ल्याण्डफिल साइट अहिले धनकुटाको पर्यटन केन्द्रको रूपमा विकास भएको छ ।