उर्लाबारीः जनतासँग समन्वय गरेर समाजमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले थालिएको समुदाय– प्रहरी साझेदारी अभियान कार्यक्रम प्रभावकारी बनेको सरोकारवालाहरूले बताएका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले शनिबार सन्थाल समुदायलाई शैक्षिक सामग्री वितरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले अपराधका घटना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्रियपूर्वक लागि परेको बताउँदै उनले लागूऔषध नियन्त्रणका लागि पनि अभियान सञ्चालन भइरहेको बताए । समुदाय– प्रहरी साझेदारी कार्यक्रम गरी जनतासँग प्रहरीको गतिविधि बढाउने र जनतासँगै प्रहरी पनि छ है भन्ने भावनाको विकास गराउने काम गरिरहेको उनले बताए ।

त्यस्तै, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । अपराधमुक्त सभ्य समाज निर्माणमा उनले जोड दिए । सुरक्षाको विषयमा पनि नगरपालिकाबाट साथ सहयोग रहने मेयर फागोले बताए ।

त्यस्तै, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सबै पक्ष लागि पर्नुपर्ने बताइन् । उनले जनतासँग प्रहरी कार्यक्रमले जनतासँग सिधा सम्पर्क बढाउने भएकाले अपराध नियन्त्रणमा सहयोगी बनेको बताइन् ।

उर्लाबारी वडा नं. ८ का अध्यक्ष कुलबहादुुर कार्कीले प्रहरी र जनताको सुमधुर सम्बन्ध कायम हुन सके अपराधका घटना नियन्त्रणमा ठूलो सघाउ पुग्ने बताए । सो अवसरमा प्रहरीले सन्थाल समुदायका ५० भन्दा बढी बालबालिकालाई शैक्षिक सामग्रीसहित लत्ताकपडा वितरण गरेको थियो ।