इटहरीः उत्तरी मोरङको बेतना सिमसार क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । दैनिक १ हजार बढी आन्तरिक पर्यटकहरू आउने बेतनामा छिमेकी मुलुक भारतका पर्यटकहरू पनि फाट्टफुट्ट आउन थालेको सिमसार क्षेत्रका कर्मचारी बताउँछन् ।
१ सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएर पूर्व–पश्चिम राजमार्गमै टाँसिएर बसेको बेतना सिमसारमा पिकनिक खान, घोडा चढ्न, घुम्न, बोटिङ गर्न, जङ्गल सफारी गर्न आगन्तुकहरू आउने सिमसार सम्बद्धहरू बताउँछन् ।
सिमसारमा रहेको ठूलो आकारको कमिलोसँग सेल्फी लिन पनि थुप्रै मान्छेहरू आउने सिमसारका कर्मचारीहरू बताउँछन् । सिमसारका कर्मचारी प्रमुख धनबहादुर राई सिमसारमा घुम्ने र रम्नेबाहेक विभिन्न चलचित्र, म्युजिक भिडियो, कभर सङ आदिको सुटिङ गर्न पनि प्रशस्तै मान्छेहरू आउने बताउँछन् ।
बेतनामा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्छ । ४ जनाले आधा घण्टा बोटिङ गर्न १ सय ५० रुपैयाँ लाग्छ । सिमसारमा रहेको हाँस आकारको डुङ्गामा शयर गर्न भने आधा घण्टाको २ सय रुपैयाँ शुल्क तोकिएको छ । परिचयपत्रधारी पत्रकार र प्रहरीलाई भने प्रवेश शुल्क नलाग्ने सिमसारको नियम रहेको छ । ९ जना करार र अन्य कर्मचारी गरेर सिमसारबाट १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सिमसार अगाडि लहरै बनेका २ दर्जन बढी पसहरूको दैनिक कारोबार पनि सिमसारकै चहलपहलका कारण बढेको स्थानीय व्यापारी बताउँछन् । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ मा पर्ने बेतना सिमसार नगरपालिका क्षेत्रकै मुख्य पर्यटकीय बिन्दु भएको उपमेयर तथा चर्चित कवि तारा पराजुली बताउँछिन् ।
उनी भन्छिन्, ‘मान्छेले प्रकृतिको शान्त, एकान्त र मनोरमता महसुस गर्न बेतना सिमसार पूर्वी तराईकै एउटा राम्रो गन्तव्य बनेको छ । यसलाई थप पूर्वाधार निर्माण गरी प्रचार गर्न नगरपालिका सक्रिय छ ।’

20180823_131145 20180823_131036 20180823_131243 20180823_131229  20180823_131659  20180823_131533 20180823_131419 2 20180823_131559 1