फाइल तस्बिर
पथरीः
गत बैशाख ७ गते शनिबार बिहान आफ्नै डेरा अगाडिको बाटोमा मृत अवस्थामा भेटिएकी रीना बस्नेतको मृत्यु प्रकरणको छानबिन गर्ने क्रममा प्रहरीले शङ्कास्पद ३ जनाको पोलिग्राफ जाँच गराएको छ ।

प्रहरीले रीनाको हत्या भएको आशङ्कामा उनका प्रेमी भनिएका कमल नेपालसहित उनकी श्रीमती मनिता र रीना बस्ने घरमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनीहरु ३ जनाको बयानमा शङ्का लागेपछि पोलिग्राफ जाँच गरिएको प्रहरीले जनाएको छ । पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ ।
प्रहरीले घटना भएको केही दिन पछि रीनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएको थियो । उनी अझै पनि प्रहरी हिरासतमा रहेका छन् ।

रीनासँगको सम्बन्धबारे जानकारी पाएपछि गत बैशाख ४ गते श्रीमान्लाई जुत्ताको माला र मोसो दलेर पथरी घुमाउने धम्की दिएकी कमलकी श्रीमती मनिताको समेत पोलिग्राफ जाँच गरिएको बताइएको छ ।

मदन भने आफ्नो परिवारको साथमा मृतक रीना बस्दै आएको फ्ल्याटको पूर्वतर्फको भागमा बस्दै आएका थिए । ३ जनाको पोलिग्राफ जाँच, ३७ जनाको लिखित बयान र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको प्रहरीले हत्या नभई दुर्घटनाका कारण रीनाको मृत्यु भएको बताउँदै आएको छ ।

मोरङ प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठका अनुसार पोष्टमार्टम रिपोर्टले रीनाको करङ भाँच्चिएको, टाउकोमा भित्री चोट देखिएको, छातीको भित्र रगत जमेको र मादक पदार्थ सेवन गरेको देखाएको छ । सोही घातक चोटका कारण उनको मृत्यु भएको हुन सक्ने श्रेष्ठले बताए ।

उनको मृत्युको भरपर्दो प्रमाण भने भेटिइनसकेको प्रहरीको भनाइ छ । रीनाका पे्रमी कमल, कमलकी श्रीमती मनिता र छिमेकी मदनको प्रारम्भिक बयान बाझिएपछ पोलिग्राफ जाँच गरेको प्रहरीको भनाइ छ ।

पोलिग्राफको रिपोर्ट केही दिनभित्र आउने र घटनाको बारेमा थप कुरा खेल्ने श्रेष्ठले जानकारी दिए । पोष्टमार्टम रिपोर्टका आधारमा प्रहरीले आफ्नो अनुसन्धानको पाटोलाई अगाडि बढाउँदै आएको भए तापनि माथिबाट आफैँ झरेको हो या कसैले धकेलिदिएको हो भन्ने यथेष्ट प्रमाण भने जुट्न सकेको छैन । कसैले ठेलिदिएको हुन सक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

उनले प्रयोग गर्ने मोबाइलमा घटना भएको रात आएको फोनको डिटेल, सामाजिक सञ्जालका म्यासेन्जरहरु जाँच गर्दा उनीसँग कसैको वार्ता नभएको भेटिएको र सो रात घरमा कोही व्यक्ति पुगेको भरपर्दो प्रमाण हालसम्म प्रहरीले फेला नपारेको मोरङ प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

रीना पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । बैशाख ६ गते पथरीमा आयोजित कन्सर्ट हेरेर २ जना साथीका साथमा राती डेरा फर्किएकी रीना शनिबार विहान नग्न अवस्थामा मृत फेला परेकी थिइन् ।