पथरी :मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मनकामना टोल बस्ने अन्दाजी ६५ वर्षीया पूर्णिमा विश्वकर्मालाई ठक्कर दिने सवारी र चालकलाई प्रहरीले ७ दिनपछि नियन्त्रणमा लिएको छ ।

गत बैशाख १७ गते मध्याह्न्न जङ्गलमा दाउरा लिन जाँदै गर्दा पथरीशनिश्चरेको वडा नम्बर १० को भुटानी शरणार्थी क्याम्पअगाडि उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज सुवास भट्टराईका अनुसार उपचारका लागि पथरी अस्पतालमा ल्याउने क्रममा उनको बाटामै मृत्यु भएको थियो ।

विश्वकर्माको शव उर्लाबारीको मङ्गलबारे अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टि गरिएको मृतकका छोरा अमृत विश्वकर्माले बताए । ठक्कर दिने सवारी साधनको पहिचान खुलेको थिएन ।

तर, प्रहरीले दुर्घटना भएको १ हप्तापछि विराटनगर–११ बाट बैशाख २४ गते मोटरसाइकल चालकलाई पक्राउ गरेको छ । ठक्कर दिने को ३४ प ९२१५ नम्बरको मोटरसाइकलका चालक योगेश थापालाई पक्राउ गरी आवश्यक कानुनी कार्वाही अगाडि बढाएको भट्टराईले बताए ।