इटहरीः साउन २९ गते लेटाङ–९ स्थित जाँतेको श्री उच्च माविको खानेपानी ट्याङ्कीमा विषादी हालियो । विषादी हालिएको पानी खाएपछि सो दिन विद्यालयका २९ जना विद्यार्थी बिरामी परे ।
२५ जना सोही दिन उर्लाबारीको मङ्गलबारे अस्पतालमा उपचार गरेर घर फर्किए भने ४ जना गम्भीर बिरामी विराटनगरको नोबेल अस्पतालमा उपचार गराएर ४ दिनपछि घर फर्किए ।
आज उक्त घटना भएको ११ दिन पुुगेको छ । तर, अझै दोषी पत्ता लागेको छैन । विद्यालय जाने विद्यार्थी त्रसित अवस्थामै छन् ।

अनुसन्धानमा प्रगति भएको छः एसपी मनोजकुमार केसी
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उक्त घटनालाई प्रहरीले गम्भीर रूपमा लिई अनुसन्धान जारी राखेको जानकारी दिएका छन् । आज प्रदेश पोर्टललाई जानकारी दिँदै एसपी केसीले भने, ‘अनुसन्धानमा निकै प्रगति भएको छ । घटनाका दोषी नजिक पुुगेका छाँै ।’

विद्यार्थीलाई जारको पानी खुुवाइँदैः व्यवस्थापन समिति अध्यक्ष
विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष शान्तबहादुुर राईले विद्यार्थीलाई जारको पानी खुवाइरहेको प्रदेश पोर्टललाई जानकारी दिए । विद्यालयमा खानेपानी ट्याङ्की सफा र सुरक्षित गर्न अझै केही दिन लाग्ने भन्दै सो समय सम्मका लागि विद्यार्थीलाई सफा पिउने पानी दिइरहेको उनले बताए ।
उनले विद्यालयमा सबै विद्यार्थी आइरहेको र पठनपाठनमा कुुनै समस्या नभएको बताए । घटनामा संलग्नलाई चाँडोभन्दा चाँडो कारवाहीको दायरामा ल्याउन उनले प्रशासनलाई आग्रहसमेत गरे ।

सम्बन्धित समाचारः