बेलबारीः सुन्दा अचम्म लाग्न सक्छ बेलबारी बजार छेउमै रहेको एक टोलका पसलमा चुरोट खैनी र जाँडरक्सी किनबेच गर्न पाइँदैन ।
टोलवासीले आफैँ कानुन बनाएर सूर्तिजन्य तथा मदिराजन्य सामान बिक्रीमा रोक लगाएका हुन् । बेलबारीको सुन्दर टोल विकास संस्थाले टोलवासी तथा किराना र अन्य पसलेलाई भेला गराएर यस्तो निर्णय गरेको हो ।
‘धुमपान तथा मद्यपानविरुद्धको सामाजिक अभियान, सुन्दर टोल विकास संस्थाको अभियान’ भन्ने मूल नाराका साथ सुन्दर टोल क्षेत्रका आधा दर्जन जति पसलमा न त चुरोट नै किन्न पाइन्छ न त अन्य मदिरा नै ।
‘आफ्नो टोल आफँै बनाऔं भन्ने उद्देश्यका साथ पहिलो पटक शैक्षिक संस्था आसपासका पसलमा सो नियम लागु गरेका छौँ’, सुन्दर टोल विकास संस्थाका अध्यक्ष अर्जुन कुमार राईले भने, ‘चुरोट खैनी नबेच्ने प्रतिबद्धता समेत पसलेहरूले गरिसक्नु भएको छ ।’
‘यो पसलमा मदिराजन्य तथा सूर्तिजन्य पदार्थ बिक्री गरिँदैन’ भनेर सो टोलका पसलहरूमा स्टिकर समेत सबैले देख्ने गरी टाँसिएको छ । पसलमा बालबालिका मात्रै होइन युवा, वृद्ध कसैले पनि सूर्तिजन्य र मदिराजन्य पदार्थ किनबेच गर्न पाउँदैनन् ।
यता, नगरपालिकाले समेत बालबालिकालाई प्रत्यक्ष असर पर्ने खालका अन्य खाद्यवस्तुसमेत विद्यालाय आसपासका क्षेत्रमा बेचबिखन गर्न नपाइने नियम बनाएको नगरपालिकाकी उपमेयर ढाका पराजुलीले बताइन् । मदिरा तथा सूर्तिजन्य वस्तु कुनै पनि पसलमा बालबालिकाले किनबेच गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने नगरपालिकाका प्रवक्ता योगेन्द्रप्रसाद सुवेदीले बताए ।

स्वागतयोग्य कामः आदिवासी जनजाति
सुन्दर टोल विकास संस्थाले गरेको सो अनुकरणीय कामलाई आदिवासी जनजातिले स्वागतयोग्य भनेको छ । आदिवासी जनजातिहरूले संस्कारका रूपमा मदिरा प्रयोग गर्छन् । टोलमा मत्रै नभई नगरमै यस्तो निषेध गर्नुपर्ने आदिवासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राई बताउँछन् । उनी भन्छन्, ‘अब संस्कारमा पनि परिवर्तन गर्नुपर्छ ।’
उता, बेलबारी नगरपालिकाले नगरसभाबाट पारित गरी नगरपालिका क्षेत्रभित्रका पसलमा बालबालिकालाई मदिरा तथा सूर्तिजन्य पदार्थ किनबेचमा रोक लगाएको छ ।