पथरी: पछिल्लो समय उत्तरी मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा भएका शृङ्खलाबद्ध रहस्यमय मृत्युका घटनालाई लिएर १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले चासो व्यक्त गरेका छन् ।
बुधबार उद्योग वाणिज्य सङ्घ पथरीको अगुवाइमा रीना मृत्यु प्रकरणको छानबिन र पथरीको सुरक्षा व्यवस्थापनको वर्तमान अवस्थाको जानकारी गराउन सङ्घको टोली मुख्यमन्त्रीको कार्यालयमा पुगेको थियो ।
रीना मृत्यु प्रकरणको वास्तविकता यथाशक्य चाँडो सार्वजनिक गर्न पहल गरिदिन ज्ञापनपत्रसहित पुगेको टोलीले मुख्यमन्त्री राईलाई भेटेर पत्र बुझाएको छ ।
पत्र बुझ्दै मुख्यमन्त्री राईले पथरीका विषयमा सरकार गम्भीर भएको बताए । डीएसपीको दरबन्दीका लागि पहल गर्ने पनि उनले बताए ।
गत बैशाख ७ गते आफ्नै डेरा अगाडि बाटोमा नग्न रुपमा मृत अवस्थामा फेला परेकी रीनाको मृत्युपछि पथरीवासी त्रासमा छन् ।