पथरीः पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ की वडा सदस्य दिलु मगरका छोरा पारस राईको समूहले एक स्थानीयको घरमा प्रवेश गरी कुटपिछ गरेका छन् । कुटपिट गरेको ९० घण्टा बित्न लाग्दा पनि कुटपिटमा संलग्नलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

राईसहित उनका साथी दिवस मगर, सुरज भन्ने गणेश राई, अविन राई, विनोद तामाङ र क्रिस बिकको समूहले कुटपिट गरेको थियो । स्थानीय फुलमान चौधरीको घरमा प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको पीडित फुलमान बताउँछन् ।

बैशाख २३ गते राति कान्छी छोरी पार्वती चौधरीको जन्मोत्सव मनाउने क्रममा चौधरीको घरमा पाहुना आएका सूर्य माझीसँग नाच्ने क्रममा सामान्य विवाद भएको बताइएको छ । माझीसँग विवाद भएपछि धम्की दिँदै चौधरीको घरबाट निस्केका राईले साथी बोलाएर ल्याई २३ गते साँझ साढे ८ बजेतिर परिवारका सदस्यलाई कुटपिट गरेको पीडितको भनाइ छ । चिर्पट, बाँस र बोतल प्रहार गरेको घाइते शरद चौधरीले बताए ।

घरमु्ली फुलमा चौधरी, उनका छोरा कुमार चौधरी, छोरी मालती चौधरी र आफू घाइते भएको उनले बताए । घाइते सबैको पथरीमा रहेको मोरङ अस्पतालमा उपचार भई ३ जना घर फर्किसकेको र नाक काटिएका कुमारको भने उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

घाइतेको उपचारमा संलग्न डा. उमेश गुरागाईका अनुसार कुमारलाई डिस्चार्ज हुन केही दिन लाग्नेछ ।

घटना लगत्तै प्रहरीलाई खबर गरे पनि प्रहरीले चासो नदिएको पीडितको आरोप रहेको छ । प्रहरीले भने घटनामा संलग्नहरू फरार रहेका कारण पक्राउ गर्न नसकिएको र खोजी कार्य भइरहेको जनाएको छ ।

घटनालाई लिएर शुक्रबार स्थानीय टोलमा वडाध्यक्ष गोविन्द भण्डारी, पीडकका अभिभावक, प्रहरी प्रशासन र पीडित पक्षको भेलाले पीडितको औषधीउपचार गर्ने, भौतिक संरचनामा पुगेको क्षतिको क्षतिपूर्ति दिने र दोषीलाई कानुनी कार्वाही गर्ने सहमति भएको बताइएको छ ।