इटहरीः साउन २७ गते विराटनगर महानगरपालिकामा दिउँसो २ बजे बम बिस्फोट भयो । मेयर भीम पराजुली चढ्ने गाडीको पछाडि पट्टिको सिसा फुट्यो । कार्यालयका झ्यालका सिसा फुटे । क्षणभरमै आतङ्कित बन्यो महानगर परिसरको वातावरण ।
दैनिक सयौँ सर्वसाधारण आवतजावत हुने स्थानमा भएको अतंकवादी शैलीको आक्रमणबारे चौतर्फी हल्लाखल्ला मच्चियो । महानगर परिसरमा सबै दृश्य कैद गर्न सक्ने क्षमताको सिसि क्यामेरा जडान गरिएको छ । तर, सोही बम बिस्फोटको समयका दृश्य भने सिसि क्यामेरामा कैद भएनन्, घटना झनै रहस्यमय बन्यो । महानगरभित्रको आन्तरिक सुरक्षा प्रणालीलाई नियन्त्रणमा लिएर महानगर परिसरभित्र बिस्फोट गराउन कोही व्यक्ति बमसहित पुगेको प्रष्ट छ । सो बेलाको दृश्य कैद गर्न सिसि क्यामेरा असफल बन्नुमा यो घटनामा महानगरको कोही न कोही व्यक्ति संलग्न छ भन्ने शंकालाई पुष्टि गर्ने पर्याप्त आधार मिल्छ ।

के गर्दैछ प्रहरी ?
प्रहरीले घटनालाई गम्भीर रूपमा लिई अनुसन्धान अघि बढाएको बताएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार दोषी पत्ता लगाउने केही समय लाग्ने निश्चित छ । प्रदेश पोर्टललाई जानकारी दिंदै केसीले भने, ‘घटनाका दोषीसमक्ष पुग्न केही समय लाग्ला तर पत्ता नलाग्ने भन्ने कुरै छैन ।’
उनले महानगरको सुरक्षा प्रहरीले बढाएको बताए । ‘बाह्य सुरक्षा त प्रहरीले दिने हो नै महानगरको आन्तरिक सुरक्षाकर्मी हुने भए पनि केही समयका लागि नेपाल प्रहरीको सुरक्षा पनि थप गरिएको छ,’ उनले भने ।

महानगरभित्र बम पड्किएको घटनाले सुरक्षा प्रणालीलाई चुनौती दिएको छ । यसै आधारलाई मध्यनजर गर्दै प्रहरीले विराटनगर क्षेत्रको निगरानी बढाएको बताएको छ । एसपी केसीका अनुसार विराटनगरका चेकिङ र गस्ती अन्य समय भन्दा बढाइएको छ ।
प्रहरीले घटना भएलगत्तै शंकास्पद ८ व्यक्तिलाई पक्राउ गरेको थियो । ती व्यक्ति बम बिस्फोटमा संलग्न नभएको पाइएपछि छाडिएको थियो ।