विराटनगरः गाईगोरु चोरीमा संलग्न २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । रातको समयमा झापाको दमक नगरपालिका वडा नम्बर ४, ताराबारीका विवेक शर्मा भट्टराईको गोठबाट एक गाई, बहर र कोरली बाछी हराएका थिए ।

हराएका चौपायाको खोजीका लागि सिँजुवा प्रहरीले अनुसन्धान अघि बढाई वस्तुभाउ चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको हो । प्रहरी टोलीले चौपाया खोजी गर्ने क्रममा आइतबार बिहान साढे ८ बजे चौपायासहित उनीहरूलाई फेला पारेको जनाइएको छ । मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरियास्थित रहेको नेपाल–भारत सिमानाको ३८ नम्बर पिल्लर छेउबाट चौपायासहित उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ३ मङ्गलबारे बस्ने ३५ वर्षीय तारानिधि गुरागार्इं र सोही स्थानका ३२ वर्षीय विदेश लिम्बू छन् । पक्राउ परेका दुवैलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । ती गाईवस्तुको अनुमानित बजार मूल्य रू. ७५ हजार रहेको बताइएको छ ।