धनकुटाः चौकीदारको स्थानान्तरणको माग गर्दै जिल्ला कारागार धनकुटाका कैदीबन्दीले आन्दोलन थालेका छन् ।

चौकीदार डिल्लीप्रसाद अधिकारीको नाममा निवर्तमान चौकीदार देवराज अधिकारीले चौकीदारीको काम गर्दै आफूहरूलाई दमन गरेको आरोप लगाउँदै उनीहरूले आन्दोलन गरेका हुन् । कारागारमा लामो समयदेखि दमन र शोषण गरेको, गर्मी र जाडोमा पाउने स्केललाई दुरूपयोग गरेको, जेलभित्र निषेध गरिएका खैनी, जाँडरक्सी, चुरोट लागूपदार्थलगायतका वस्तुको कारोबार गरेर आर्थिक लाभ लिने गरेको समेत उनीहरूको आरोप छ ।

यस विषयमा कुरा गर्दा आफू जेलबाहिर हिँड्ने हँदा सबैसँग राम्रो सम्बन्ध रहेको हुनाले जुनसुकै बेला जे पनि हुने र गर्न सक्ने जस्ता धम्की दिने गरेको कैदीबन्दीको आरोप छ । उनीहरूले चौकीदार नफेरेसम्म विरोध जारी राख्ने बताएका छन् ।

चौकीदार अधिकारीले भने आफूले नियमको पालना गराएकाले केही कैदीबन्दीले अन्य कैदीबन्दी उचालेर आफूलाई झुटो आरोप लगाएको बताए । आफू चौकीदार भएपछि धेरै कुरा सुधार गरेको र त्यो कार्य नरुचाउनेले आरोपमात्र लगाएको उनको भनाइ छ ।

धनकुटा कारागारका निमित्त जेलर टङ्क श्रेष्ठले भने कैदीहरूको निवेदन प्राप्त भएको र आफूले प्रशासनसँग कुरा गरेर मात्र समाधान गर्न सक्ने बताए । छिटै कैदीबन्दीका माग पूरा गरिने उनको भनाइ छ ।