तस्बिरः लक्ष्मण थापा
धरान:इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले धरानमा गुण्डाराज र प्रहरीको चाकडी अन्त्य गर्ने बताएका छन् ।

धरानका विभिन्न क्षेत्रका व्यक्ति तथा प्रतिनिधिहरूसँग भएका छलफलमा डीएसपी न्यौपानले धरानमा हुने गुण्डागर्दी र प्रहरीको चाकडी बन्द गर्ने बताएका हुन् । उनले प्रहरीसँगको निकटता देखाएर कोही कसैले फाइदा लिन खोजेको भेटिए कारबाही गर्ने बताएका छन् । उनले गुण्डागर्दी र लागूऔषध कारोबारीप्रति कठोर हुने प्रतिबद्धता जनाए ।

धरान पर्यटकीय शहर भएकाले यहाँको शान्तिसुरक्षा त्यही अनुसारले हुने उनको भनाइ थियो । व्यापार, व्यवसाय गर्न प्रहरीले पूर्ण सुरक्षा दिने उनको भनाइ थियो । पत्रकार तथा व्यवसायीहरूको भेटमा उनले कानुन पालन गर्ने र गराउने क्रममा कोही कसैसँग आफ्नो सम्झौता नहुने अडान राखे । कानुनले दिएको सीमाभित्र रहेर हुने सबै कार्यलाई सुरक्षा दिने तर कानुन विपरीतका काममा कसैको कुरा नसुन्ने उनको भनाइ छ ।

पहिलेदेखि चलिआएका सुरक्षासम्बन्धी योजनाहरूलाई निरन्तरता दिने उनले बताए । ‘प्रहरी भनेको साङ्गठनिक सिस्टममा चल्ने निकाय हो । यो आफ्नो सिस्टमले चल्छ र कानुन चिन्छ’, उनले भने, ‘अपराध अनुसन्धानको पाटो पनि चुस्त बनाउनेदेखि सूचना सम्प्रेषणका पक्षलाई सरल बनाउने योजना छ ।’

अब प्रहरीको व्यवहार र बोलीचाली पनि परिवर्तन हुनुपर्ने भन्दै उनले प्रहरीले कोही कसैसँग असभ्य बोल्ने र अनुचित व्यवहार नगर्ने उनले बताए ।

पुलिसिङलाई व्यापक गरिने
डीएसपी न्यौपानेले अपराध अनुसन्धान र नियन्त्रण सँगसँगै नागरिक र प्रहरीबीच सहकार्य र समन्वय गर्न गृह प्रशासन सुधार ऐन अनुसारका कार्यक्रमहरूलाई जोड दिने बताएका छन् । समुदायमा प्रहरीको उपस्थिति र नागरिक साझेदारी गर्न जनशक्तिले भ्याएसम्म एक टोल एक प्रहरीको अभियान चलाउने योजना रहेको उनले बताए ।

‘सर्वसाधारण जनताको कुनै माध्यमबाट होइन सिधै सम्पर्क हुनुपर्छ’, उनले भने, ‘त्यो वातावरण म तयार गर्छु ।’ कथित समाजसेवीहरूबाट जोगिएरै काम गर्ने डीएसपी न्यौपानेको भनाइ थियो ।

धरानमा नागरिक र प्रहरीबीच सहकार्य भएका थुप्रै कामहरू रहेका र त्यसलाई थप व्यवस्थित गर्दै दीर्घकालसम्म धरानको शान्ति सुरक्षालाई कायम राख्न थप सुधारका काम गर्ने योजना रहेको उनले बताए । ‘अब पुलिसमात्र होइन, पुलिसिङ पनि सक्रिय हुन्छ’ उनले भने, ‘प्रहरी देख्दा अपराधी डराउने र नागरिक खुशी हुने अवस्था सिर्जना गर्न कोशिस गर्छु ।’