पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको पशुपति सामुदायिक बन क्षेत्रको बाघे सिमसारमा एक व्यक्ति मृत अवस्थामा भेटिका छन् ।

सालको रुखमा डोरी बाँधिएको र मृतकको घाँटीमा पनि डोरी रहेको अवस्थामा भेटिएको उनको शव सड्न थालेको छ । पूर्व पश्चिम राजमार्गदेखि करीब १ किलोमिटर उत्तर सामुदायिक वनको सिरानमा शव भेटिएको हो ।

आज शरणार्थी शिविरबाट च्याउ खोज्न जङ्गल जानेहरुले सो स्थानमा शव देखेपछि सोही वडाका अध्यक्ष सागर राईलाई जानकारी गराएको र राईले प्रहरीलाई खबर गरेको बताइएको छ । प्रहरी घटनास्थल पुगी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

सो शव आफ्नो बाबुका भएको भनी सोही वडाको मनकामना टोल बस्ने राजेश धिमालले बताएका छन् । गत शुक्रबारदेखि हराइरहेका बाबुको खोजी भइरहेको उनले बताएका छन् ।

बैशाख २६ गते राति घरमा सुतेका उनी भोलिपल्ट बिहान घरमा नभेटिएपछि आफन्त र छरछिमेकमा समेत खोजी गरिएको छोरा राजेशले बताए । खोजी गर्दा समेत नभेटिएपछि प्रहरीलाई जानकारी गराएको धिमालकोे भनाइ छ ।

घटनास्थलको मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्याजस्तो देखिए पनि घटनाको वास्तविकता भने शवको पोष्टमार्टम रिपोर्टपछि थाहा हुने इलाका प्रहरी कार्यालय पथरीका प्रमुख सुवास भट्टराईले बताए । आफ्ना बाबुको मानसिक सन्तुलन ठीक नभएको भनी छोराले प्रहरीलाई जानकारी गराएको भट्टराईले बताए ।