धरानः डाक्टरको सिफारिशबिना औषधी बिक्री गरेको आरोपमा धरान–२ स्थित दीपक मेडिकल हलका सञ्चालकलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
अवैध औषधीसँगै लागूऔषध पनि बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले बिहीबार मेडिकलमा छापा मारेको थियो ।
छापा मार्ने क्रममा अवैध रूपमा बिक्री गरिरहेको टेपल ५० नामको औषधि २ सय ४६ क्याप्सुल, स्पासपिन नामको औषधी ३ सय ९२ क्याप्सुल र प्रिगब्यालिन नामको औषधी ३३ क्याप्सुल फेला परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । मेडिकलबाट औषधी बिक्री गरिरहेका २९ वर्षीय दीपक शाह पनि पक्राउ परेका छन् ।
उनलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्थापन विभाग विराटनगरमा बुझाइएको डीएसपी न्यौपानेले बताए ।