इटहरीः इटहरीमा ६० जना सहभागी भएको बिल्डिङ इलेक्ट्रिसियन र असिस्टेन्ट व्यूटिसियनको तालिम सुरु भएको छ । इलेक्ट्रिसियनमा ४० जना र व्युटिसियनमा २० जनाले तालिम लिने आयोजकले बताएको छ । ६० सहभागीमा २७ जना महिला रहेका छन् । व्युटिसियनका सबै बिस जना र इलेक्ट्रिसियनका ७ जना सहभागीहरू महिला रहेका छन् ।

६५ कार्य दिनको तालिम ३ सय ९० घण्टाको हुने तालिम प्रदायक संस्था वल्ड लिङ्क टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालीले जानकारी दिएको छ । शुक्रवारबाट सुरु तालिम यही भदौमा समापन हुनेछ । तालिममा प्रदेश १ को भोजपुर मोरङ, सुनसरी, उदयपुर हुँदै प्रदेश २ को सप्तरी सम्मका सहभागीहरू रहेको आयोजक संस्थाका ऋषि नेपालले जानकारी दिए ।

बल्ब अन गरेर शुक्रवार बिहान एघार बजे प्रदेश १ का प्रभावशाली संसद् सर्वध्जव साँवाले तालिम उद्घाटन गरेका थिए । नेकपा नेता हिमाल सुवेदी, उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष तथा अबको अध्यक्षका बलिया उम्मेदवार शैलेश बिष्ट लगायतको उपस्थितिमा तालिमको उद्घाटन भएको थियो । लालिमलाइ समृद्धि र हेल्भेटास स्विस इन्टरकोपरेसनले आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेको सांसद साँवाले विश्वका चिन र अमेरिका जस्ता धनी र शक्तिशाली देशहरू बनाउन प्राविधिक जनशक्तिको मुख्य हात रहेको भन्दै प्राविधिक तालिम आवश्यक भएको बताए । बढ्दो बजारमा छरिएका इलेक्ट्रिसियन तथा व्युटिसियनहरुले स्वरोजगार बन्दै राज्यलाई कर तिर्न सक्ने अवसर तालिमले प्रदान गर्न सक्ने साँवाले बताए । कार्यक्रममा उपस्थित विशिष्ट अतिथि इटहरीकि उपमेयर लक्ष्मी गौतमले तालिम लिने मात्रै नभएर तालिमको सिपलाई व्यवहारमा उतारेर व्यवसायी बन्न सबै सहभागीलाई आग्रह गरिन ।

तालिममा सहभागीहरूलाई रोजगारको प्रत्याभूति गरिने तालिम प्रदायक संस्थाका अध्यक्ष समिर खड्काले बताए । खड्काका अनुसार युवाको विदेश पलायन रोक्न र स्वदेशमै रोजगार तथा स्वरोजगार बनाउन तालिम दिइएको हो । समावेशी प्रतिनिधित्व भएको तालिममा सहभागीहरूले आफ्नो सिप स्वदेश तथा विदेशमा प्रयोग गर्न सक्ने खड्काले बताए ।