झापाः लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाले ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित झापा दमक–७ का १९ वर्षीय एलेन आङ्थुपो लिम्बूलाई सोमबार पक्राउ गरेको छ ।

भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई काँकरभिट्टाको भन्सार गेट नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिम्बूले लगाएको पेन्टीभित्र प्लाष्टिकका ४ वटा पोका बनाएर लुकाइछिपाई ल्याउँदै गर्दा गोप्य सूचनाका आधारमा ब्राउन सुगर फेला परेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार ३ सय मिलिग्राम ब्राउनसुगर कसैले बोकेमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।

उनलाई लागूऔषध ओसारपसारमा मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

लागूऔषध ऐन २०३३ मा लागूऔषध उत्पादन, भण्डारण, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई २ वर्षदेखि १५ वर्षसम्म कैद वा २ लाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई १ महिनाको कैद तथा २ हजार रुपैयाँ जरिवाना हुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।