पाँचथरः पाँचथरको मिक्लाजुङ –३ आरुबोटेमा सोमबार राती २ परिवारका ९ जनाको हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
धनराजको परिवारका पाँच जनाको हत्या भएको हो । हत्या भएका सबैको शव घरभित्रै फेला परेको छ । छिमेकी बमबहादुरको परिवारका ४ जनाको शव भने घरभित्र तथा बाहिर वीभत्स अवस्थामा भेटिएको वडाध्यक्ष हस्तराज फियाकले बताए ।
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेको बताइएको छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छिन् ।
उनी पनि गम्भीर घाइते भएको बताइएको छ । मध्यरातमा भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली पुगिसकेको छ । इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थलतर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ९ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि भएको बताए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोली गएको उनले बताए ।