भोजपुरः भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीको हतियारधारी समूह र प्रहरीबीच दोहोरो मुठभेड भएको छ । मुठभेडमा प्रहरीको गोली लागि षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउले घर भएका विप्लवका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन् ।

सुरक्षा स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइँदैछ । उनको साथमा हतियारसमेत फेला परेको बताइएको छ ।

मङ्गलबार दिउँसो टेम्केमैयुङ गाउँपालिका वडा नं. २ स्थित धोद्रे जङ्गलमा विप्लवका हतियारधारी लडाकु जत्थासँग प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले पुष्टि गरेका छन् ।

सो ठाउँ भोजपुरको छिनामखु र खोटाङको केपिलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । सो क्रममा उनीहरूले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए । दर्जनौंको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ ।

विगत केही दिनदेखि भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ, दोभानेमा विप्लवका हतियारधारी लडाकु रहेको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाको आधारमा प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले चारैतिरबाट घेरा हालेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ खतिवडाले बताएका छन् ।